कर्मचारीहरूलाई अर्थमन्त्री शर्माको निर्देशन( काम छाडेर चाकडी गर्न नआउनू)

काठमाडौँ । वनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरूलाई काम छाडेर चाकडी गर्न नआउन निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रका लागि केही गर्ने उद्देश्य साथ आएको बताए ।

‘मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने प्रतिबद्धता गर्दछु,’ उनले भने, ‘मन्त्री र कर्मचारीबीच कुनै पनि दूरी म चाहँदिनँ, चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गर्छु ।’

मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकाले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढिरहेको व्यापार घाटा चुनौतीको रूपमा देखिँदै गएको बताए । उनले मुद्रा सञ्चितिको अवस्था राम्रो भए पनि व्यापार घाटा चुलिँदै गएकोमा चिन्तित हुनुपर्ने बताए

देशको विकास निर्माण तथा सेवा क्षेत्रमा खर्च गर्न पर्याप्त मौज्दात भए पनि हरेक वर्ष बढ्दै गएको व्यापार घाटाले समस्या निम्त्याउने बताए ।

आगामी आर्थिक वर्षमा निर्यातको मात्रा बढाउन सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ ।

देशमा निर्माण वा उत्पादन हुन सक्ने सानोभन्दा सानो मालवस्तु पनि महँगोमा आयात भइरहेको गर्भनर अधिकारीले बताए ।

यस्तै सचिव शिशिरकुमार ढुंगानाले आर्थिक स्रोतका दक्षतापूर्ण परिचालन गर्न सके मात्र लक्ष्य गरिएको आर्थिक वृद्धि मेटाउन सकिने बताए ।

सचिव ढुंगानाले कोरोनाको कारण थलिएको अर्थतन्त्र खुम्चिएको राजस्व संकलनका बीच आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन स्रोतको दक्षतापूर्ण प्रयोग र संकलन भएको राजस्व आर्थिक वृद्धिका क्षेत्रमा, विकास पूर्वाधारको क्षेत्रमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले खोप खरिद र वितरण तथा कोभिड प्रभावितहरूका लागि राहत र पुनस्र्थापना साथै समग्र अर्थतन्त्रको पुनर्उत्थानमा मन्त्रालयले प्राथमिकताको साथ काम गर्नुपर्ने बताए । यसका साथै अहिलेको सरकारले निजी क्षेत्रको मनोबललाई उच्च राख्ने गरी काम गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार