६० वर्षमाथिकालाई तेस्रो मात्रा खोप लगाउने तयारीमा इजरायल

काठमाडौं । इजरायलले ६० वर्षभन्दा माथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको तेस्रो डोज खोप लगाउने तयारी गरेको छ । यसका लागि इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले नै घोषणा गर्ने तयारी गरेका छन् ।

पछिल्लो साता बढ्दो गम्भीर बिरामीको सङ्ख्या पछि इजरायलले यस्तो निर्णय गर्ने तयारी गरेको हो । इजरायलमा सोमबारदेखि बुधवारसम्म गम्भीर अवस्थाका सङ्क्रमितको सङ्ख्या २० बाट बढेर ४१ पुगेको छ ।

गत जनवरीमा खोप लगाएका ६० वर्षभन्दा माथि उमेर समूहका नागरिकमा खोपको प्रभावकारिता जुलाईसम्म पुग्दा ८१ प्रतिशतमा झरेको छ ।

धेरैले ६० वर्षभन्दा माथिकालाई तेस्रो डोज लगाउने कुराको समर्थन गरे पनि कतिपयले पर्याप्त तथ्याङ्कको विश्लेषणपछि मात्रै निर्णय हुनुपर्ने बताएका छन् ।

यसका लागि सरकारले स्वास्थ्य विशेषज्ञहरूको प्यानल नै तयार पारेको छ । सो प्यानलको निष्कर्षपछि प्रधानमन्त्री बेनेटले तेस्रो डोज लगाउनका लागि निर्णय गर्न सक्ने र सो निर्णय स्वास्थ्य मन्त्रालयबाट पनि पास भएपछि ६० वर्षमाथिकालाई तेस्रो डोज लगाइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार