१८ वर्षअघि इराकमा अस्ताएका सपना

न्युज कारखाना

खोटाङ, १६ भदौ

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका राजेन्द्र श्रेष्ठ र जन्तेढुंगा गाउँपालिका–३ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ वैदेशिक रोजगारीका सिलसिलामा जोर्डन जाने निश्चित थियो । श्रेष्ठद्धय नजिकका आफन्त भएकाले सल्लाह गरेरै एकसाथ  भिसाका लागि निवेदन दिए । होटलको काम गर्न जोर्डन जान तयार भएका उनीहरुको भिसा पनि सँगै आयो । 

झोलाभरि सम्पत्ति ल्याउने सपनामा फूलमाला लगाएर राजेन्द्र र ज्ञानेन्द्र एकैदिन घरबाट हाँसीखुसी बिदा भए । घरबाट हिँडेको १०/१२ दिन नवित्दै राजेन्द्र र ज्ञानेन्द्र इराकमा मारिएको खबर आयो । विश्वलाई नै आतंकित पार्ने त्यो दिन थियो, १६ भदौ २०६१ । परदेशमा धन कमाएर परिवार पाल्ने सुन्दर सपना बोकेर विदेशिएका राजेन्द्र र ज्ञानेन्द्रसहित १२ जना नेपाली सुन्नी अतिवादी संगठनको तारोमा परे । 

अतिवादी संगठनले उनीहरुको गोली हानेर र घाँटी रेटेर विभत्स हत्या गर्यो । आक्रमणमा परेर राजेन्द्र र ज्ञानेन्द्रको सपनासँगै जीवन सँधैका लागि अन्त्य भयो । कुपन्डोलस्थित मुनलाइट म्यानपावरबाट दुबई हुँदै इराक उत्रिएका उनीहरुको विमानस्थलमा अवतरण गरेको केही समयपछि हत्या भएको खबर आएको राजेन्द्र र ज्ञानेन्द्रका आफन्त निरकुमार श्रेष्ठ बताउँछन् । 

‘काठमाडौंबाट दुबईमा लगेर दुई/चार दिन राखेछन् । दुबईबाट इराकमा ओर्लनेवित्तिकै म्यानपावरको एजेन्टले रिसिभ गर्नुपर्नेमा सुन्नी अतिवादी संगठनले तिमीहरुले खोजेको मान्छे हामी हौं भन्दै लिएर गएछन्,’ १८ वर्ष अघिको त्यो कालो दिन सम्झँदै निरकुमारले न्युज कारखानसँग भने, ‘अर्काको देशमा आतंककारीको समूहले अपहरण गरेको कसैलाई पत्तै भएन । अपहरण गरेको केही समयमै हत्या भएको खबर आयो ।’ 

त्यसवेला गाउँघरमा टेलिफोनको सुविधा थिएन । मोबाइलमै इन्टरनेट चलाउने कुरा त सपनाजस्तै थियो । देश-विदेशको खबर थाहा पाउन रेडियो सुन्नुपथ्र्यो । 

अधिकांश घरमा रेडियो हुन्थ्यो । त्यही रेडियो सेटबाटै राजेन्द्र र ज्ञानेन्द्रको विभत्स हत्या भएको खबर परिवार तथा आफन्तले पाए । 

काठमाडौंतिर बस्ने र इन्टरनेटको पहुँचमा भएका आफन्तले अलजजिराबाट प्रसारण भएको सो विभत्स हत्याको भिडियो क्लिप देखे । भिडियो हेरेका आफन्तले पनि राजेन्द्र र ज्ञानेन्द्रको हत्याको विषयमा परिवारलाई खबर पुर्याएको निरकुमार बताउँछन् । 

राजेन्द्र परिवारका चार दाजुभाइमध्ये जेठो हुन् । उनको विवाह भएको दुई वर्ष पनि भएको थिएन । बच्चा नजन्मिँदै उनले विदेश जाने विषयमा श्रीमतीलाई राजी गराए । 

राजेन्द्रको हत्याको खबर आएपछि उनकी श्रीमती फत्तेपर (उदयपुर) माइती फर्किइन् । कानुनी लडाईपछि कम्पनी केल्लोग ब्राउन एन्ड रुटबाट राजेन्द्रको नाममा प्राप्त भएको क्षतिपूर्तिमध्ये आधा रकम लिएपछि उनी सँधैका लागि माइती फर्किइन् । 

बालबच्चा नभएको र छोरा बितेका कारण उनलाई घरैमा बस्न परिवारले जोडबल गरेन । राजेन्द्रका बुवा रामकुमार श्रेष्ठ हाल चिसापानीका वडाध्यक्ष छन् ।

ज्ञानेन्द्र भने डेढ वर्षका छोरा र श्रीमती छाडेर विदेशिएका थिए । उनी पनि परिवारको जेठो सन्तान हुन् । श्रीमती तारा क्षतिपूर्तिवापत प्राप्त भएको रकम बोकेर छोरा पढाउन काठमाडौ हान्निइन् । स्थानीयका अनुसार त्यसपछि उनी गाउँ फर्किइनन् । 

ज्ञानेन्द्रकी आमा भने गाउँमै छिन् । उनका बुवा, कान्छी आमा, कान्छी आमातर्फका भाइ उदयपुरको बेलटारमा बस्छन् ।
 
इराकमा राजेन्द्र र ज्ञानेन्द्रको हत्यापछि उनीहरुको स्मरणमा चिसापानीमा शिलालेख बनाइएको थियो । जुन संरक्षण अभावमा मेटिइसकेको छ । 

यी हुन् इराकमा ज्यान गुमाउने नेपाली 

आतंककारी समूहले राजेन्द्र र ज्ञानेन्द्रसहित झापा तोपगाछिका प्रकाश अधिकारी, धनकुटा हात्तीखर्कका मंगलबहादुर लिम्बू, धनुषा मानसिंहपट्टीका सञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोहीरी, धनुषा महेन्द नगरका मनोजकुमार ठाकुरको हत्या गरेको थियो । 

यस्तै, धनुषा महेन्द्रनगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका जीतबहादुर थापा, लमजुङ भोटेओडारका विष्णुहरि थापा र रोल्पा कुरेलीका भेकबहादुर थापाको हत्या गरेका थिए । ११ जनालाई गोली हानेर र एकजनाको घाँटी रेटेर हत्या गरिएको भिडियो सार्वजनिक भएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार