दुई दिनभित्र स्थानीय तहको निर्वाचन मिति तोक्ने सहमति भयो : गुरुङ

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले दुई दिनभित्र स्थानीय तह निर्वाचनको मितिबारे सहमति जुटाउने समझदारी गरेका छन् । दलहरूले पार्टीभित्र छलफल गरी माघ ६ गते फेरि सत्तारुढ संयन्त्रको बैठक बसेर स्थानीय तहको मितिमा सहमति जुटाएर मन्त्रिपरिषद्‌बाट निर्णय गराउने समझदारी गरेको मंगलबार बसेको बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गराउनुपर्ने मिति प्रस्ताव गरेकोबारे सत्तारुढ गठबन्धनको बैठकमा छलफल भएको गुरुङले जानकारी दिए । ‘वैशाखमा नै निर्वाचन गर्नैपर्छ भन्ने कुरा नउठेपनि निर्वाचन आयोगले वैशाखमा निर्वाचन गर्नका लागि मिति प्रस्ताव गरेको कुरा उठेको थियो । मुख्य रूपमा संविधानले तोकेको, कानुनले तोकेको वैधानिक व्यवस्थाअनुसारको समयसीमाभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्नेमा समझदारी भएको छ,’ उनले भने ।

निर्वाचनको मिति तय गर्नका लागि गठबन्धनमा सहभागी दलहरूले पार्टीभित्र आन्तरिक छलफल गर्ने पनि उनले बताए । ‘निर्वाचन मितिबारे क्याबिनेटले निर्णय गर्नुभन्दा अगाडि आ-आफ्नो दलमा पनि परामर्श गरेर दुई दिनभित्रमा फेरि एकपटक शीर्ष नेताहरूको बैठक बसेर टुंगो लगाउने भन्ने कुरा भएको हो,’ उनले भने ।

अबको गठबन्धनको बैठकले निर्वाचनको मितिबारे समझदारी गर्ने र सोहीअनुसार मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने उनले बताए । ‘अहिले पाँच दलले आ-आफ्नो दलभित्र परामर्श गर्ने, दुई दिभित्रमा पाँच दलीय संयन्त्रको बैठक बसेर मिति नै तोक्ने भन्ने कुरा भएको छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार