अनिलकुमार मण्डलले तीन जनाको हत्या गरेको खुलासा

विराटनगर । मोरङको उखुबारीमा हत्या गरिएको दुई शवको अनुसन्धानका क्रममा प्रहरीले बिहीबार साँझ अर्को एक जनाको शव फेला पारेको छ । ललितपुरको धापाखेलमा ६२ वर्षीय मोहनप्रसाद लिम्बुको शव भेटिएको हो । ५ फिट तल गाडेको अवस्थामा उनको शव भेटिएको र शवको उत्खनन भइरहेको महानगरीय अपराध महाशाखाले बताएको छ ।

अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका अनिलकुमार मण्डलको बयानका आधारमा प्रहरीले तेस्रो व्यक्तिको पनि हत्या भएको पत्ता लागेको हो । प्रहरीले हत्याराको शङ्का गरिरहेको व्यक्तिको पनि हत्या भइसकेको अवस्थामा शव भेटिएको हो ।

बिहीबार साँझ भेटिएको मोहनप्रसाद लिम्बुको शव एक घरको कम्पाउन्डनजिकै खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो । उनको शव ५ फिट तल गाडेको अवस्थामा फेला परेको अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले बताए ।
अपराध महाशाखाका अनुसार लिम्बुको हत्या मङ्सिर २८ गते नै भएको पाइएको छ । मण्डलले भाडामा लिएको घरनजिकै उनको शव गाडेका थिए । अनुसन्धानका क्रममा पक्राउ परेका मण्डलले मङ्सिर २८ गते नै लिम्बुको हत्या गरेर बव गाडेको बयान दिएपछि प्रहरीले शव उत्खनन गरेको हो ।

यता मोरङको उखुबारीमा भेटिएको शव पनि मण्डलकै योजनामा हत्या भएर गाडेको अवस्थामा फेला परेको थियो । मोरङमा भएको हत्यामा मण्डलले केही भारतीय पेसेवर अपराधीको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मण्डलले आर्थिक कारोबारका कारण उनीहरूको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार