गाउँपालिका अध्यक्ष पुनले गरे तलबबापत पाएको २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधाबापत पाएको २० लाख रुपैयाँभन्दा बढी रकम सामाजिक काममा खर्च गरेका छन् ।

विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधाबापत पाएको रकम खर्च गरेका हुन् ।

सेवा सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करीब ५ वर्षको अवधिमा २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरेको भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन समेत रहेका अध्यक्ष पुनले बताए ।

‘पेन्सनले मेरो खर्च पुग्छ, परिवारका सदस्य आफैं आत्मनिर्भर छन्,’ उनले भने, ‘जनतासँग गरेको प्रतिबद्धताअनुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हुँ ।’

गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक ४८ हजार रुपैयाँ सुविधा तोकेको छ । पोखराको सुन्दरीडाँडास्थित शिवमन्दिरमा नियमित पूजा सञ्चालनका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर एक पुजारीलाई तलबको व्यवस्था गरेका अध्यक्ष पुनले नारच्याङ आधारभूत विद्यालयमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण इन्जिनीयरिङको प्रवेश परीक्षा उत्तीर्ण भए पनि भर्ना हुन नसकेका पाउद्धारका काजल रोकालाई १ लाख रुपैयाँ सहयोग गरेर गण्डकी बोर्डिङ स्कूलमा भर्ना गरिएका पुनले करेन्ट लागेर दुवै हात गुमाएकी पाउद्धारकै कृशिखा विकको उपचारका लागि ३० हजार रुपैयाँ सहयोग गरेर शुरू गरेको अभियानबाट २० लाख रुपैयाँभन्दा बढी जुटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार