भोजपुरमा सातौँ कृषि गणना वैशाख ६ गतेबाट हुदै, ७४ जना गणक र सुपरीवेक्षक खटिने

भोजपुर । भोजपुरमा सातौँ कृषि गणना वैशाख ६ गते सुरु हुने भएको छ । वैशाख ६ गतेबाट हुने गनणा जेठ १९ गतेसम्म संचालन हुने जिल्ला कृषि गणना कार्यालय भोजपुरका प्रमुख सन्तोष कोइरालाले उज्यालो प्रेसलाई जानकारी दिए । आज पत्रकारहरुसंग कुरा गर्दै कोइरालाले कृषि गणनाका लागि सम्पुर्ण तयारी पूरा भएको जनाएको बताए ।

केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोही अनुसार यस वर्ष देशभरमा कृषि गणना हुन लागेको हो । गणनामा खटिने जिल्लाका गणक र सुपरीवेक्षकको लागि सञ्चालन भएको तालिमसमेत भइसकेको छ । ४५ दिनमा दुई चरणमा गणना हुने छ । पहिलो चरणमा सूचीकरण हुने छ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने प्रमुख कोइरालाको भनाइ छ ।

भोजपुरका दुई नगरपालिका र सातवटा गाउँपालिकामा कृषि गणना कार्य हुने छ । गणनामा कृषक परिवार, जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिञ्चित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमुल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारी बाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल, तथा प्रमुख बालीको उत्पादन, बीउविजन, विषादी र मलखादको प्रयोगलगायतको विवरण सङ्कलन हुने जनाइएको छ ।
जातअनुसार पाल्तु पशुपक्षीको सङ्ख्या कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउ खेती, पुष्प खेती, कृषिमा ऋण, बिमा, अनुदान, कामदारलगायतका विषयहरूमा समेत विवरण सङ्कलन हुने छ । ७७ जिल्लाका सात सय ५३ स्थानीय तहहरूमा वैज्ञानिक विधिले छनोट गरिएका कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्लन गरिने छ ।

कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश, क्षेत्रीय तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवम् नीति(निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने कृषि क्षेत्रको बनोट तथा तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्माताहरूलाई सघाउ पुर्याउने उद्धेश्यका साथ कृषि गणना हुन लागेको हो ।

राष्ट्रिय कृषिगणना २०७८ मा गणनाको एकाइ कृषि चलनलाई लिइएको छ । हिमाल र पहाडका जिल्लामा भए कम्तीमा चार आना र तराईका जिल्लामा भए कम्तीमा आठ धुर क्षेत्रफलमा बाली लगाएको भएमा मात्र कृषि गणना हुने जिल्ला कृषि गणना कार्यालयले जनाएको छ ।

करिब तीन लाख ५० हजार कृषक परिवार कृषक परिवारहरू छानिएका छन् भने करिब ६ हजार गणक, १५ सय सुपरीवेक्षक तथा करिब ७७ कृषि गणना अधिकृतहरू गरी करिब सात हजार पाँच सय कर्मचारी प्रत्यक्ष रूपमा फिल्डमा परिचालित हुने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार