राजेशपायल, दयाहाङ, राजन मुकारुङ र तक्मे बुढाको समर्थन सुदन किरातीलाई

भोजपुर । आगामी मंसिर चार गतेको प्रतिनिधिसभा निर्वाचनमा पूर्वी पहाडी जिल्ला भोजपुरमा नेकपा माओवादी केन्द्रका नेता सुदन किराती र नेकपा एमालेका नेता तथा पूर्वमुख्यमन्त्री शेरधन राईबीच प्रतिस्पर्धा हुँदैछ ।

सुदन पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने शेरधनलाई आफ्नो पार्टी एमालेको मात्रै साथ रहेको छ । यो सुदन र शेरधनको तेस्रो भिडन्त हो । यसअघि यी दुई नेताबीच दुई पटक प्रतिस्पर्धा भइसकेको छ । शेरधन र सुदनले आपसमा हार र जीत एक एक पटक व्यहोरेका छन् ।

०४६ सालदेखि ०५६ सालसम्म जिल्लाका दुवै क्षेत्रमा लगातार विजयी हुँदै आएको नेकपा एमालेलाई ०६४ सालको पहिलो संविधासभाको निर्वाचनमा नेकपा माओवादीले धक्का दिएको थियो । त्यसबेला एमालेका उम्मेदवार शेरधनलाई हराउँदै सुदन क्षेत्र नम्बर दुईबाट विजयी भएका थिए ।

०७० को निर्वाचनमा एमालेले माओवादीसँग बदला लियो । अघिल्लो निर्वाचनमा आफूलाई हराउने सुदनलाई नै पराजित गर्दै शेरधन विजयी भएका थिए । ०७४ को निर्वाचनमा भने भोजपुरबाट बाम गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका थिए । प्रतिनिधिसभामा माओवादीका सुदन र प्रदेशतर्फ नेकपा एमालेका शेरधन र राजेन्द्र राई विजयी भएका थिए ।

आगामी मंसिर चार गते हुने निर्वाचनमा फेरि सुदन र शेरधन आमनेसामने हुँदैछ । दुवै उम्मेदवार जनताको घरदैलोमा पुगेर भोट मागिरहेका छन् । चुनावी प्रचारमा खटिएका छन् ।

भोजपुरको चुनावी प्रतिस्पर्धामा एमालेका शेरधनभन्दा माओवादी केन्द्रका सुदन अगाडि देखिन्छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणामले पनि सुदन अगाडि रहेको देखाउँछ ।

स्थानीय चुनावमा भोजपुरका वडाध्यक्षहरूमा एमालेले कुल २७ हजार ६५६ मत पाएको थियो । उता सत्ता गठबन्धनले वडाध्यक्षहरूमा पाएको कुल मत ३८ हजार ५५६ पुग्छ । यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा १० हजार ९ सय मतले अगाडि छ ।

यसैबीच चर्चित कलाकारहरू पनि सुदनको समर्थन गरेको छन् । चर्चित गायक ‘राई इज किङ’ राजेशपायल राई, चर्चित अभिनेताहरू दयाहाङ राई र विल्सनविक्रम राई ‘तक्मे बुढा’ र वरिष्ठ साहित्यकार राजन मुकारुङले सुदनको समर्थन गरेका छन् ।

सोमबार वरिष्ठ साहित्यकार मुकारुङले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर राख्दै सुनदको समर्थन जनाएका हुन् ।

उनले सुदनसहितको फोटो राख्दै लेखेका छन्( तस्वीरमा तपाईंले एक जुझारु, दरिलो अडान भएका, प्रस्ट वक्ता र जनताका नेता सुदन किरातीलाई देख्नुहुन्छ । मङ्सिर ४ गतेको चुनावमा उहाँ प्रतिनिधि सभा सदस्यका लागि भोजपुरबाट उमेदवार हुनुहुन्छ । यहाँ हामी जो जो छौं जस्तो कि रजेशपायल राई, दयाहाङ राई र विल्सनविक्रम राईको तर्फबाट उहाँलाई शुभकामना, साथ र सदा सायारेम छ ।

एमालेका उम्मेदवार शेरधन मन्त्रीदेखि मुख्यमन्त्रीसम्म भइसकेका छन् । लामो समय प्रदेश १ को मुख्यमन्त्री हुँदा पनि प्रदेशको नामकरण गर्न नसकेको भन्दै उनको आलोचना हुने गरेको छ ।

अर्कातर्फ माओवादी केन्द्रका उम्मेदवार सुदन भने अहिलेसम्म मन्त्री भएका छैनन् । पटकपटक सांसद भएका उनी बेदागी छविका नेताका रूपमा चिनिन्छन् ।

आफ्नो अडान स्पष्टताका साथ राख्ने, जनताको समस्या केन्द्रसम्म पुर्‍याउने र संसदमा हुने तीव्र बहसमा स्पष्टताका साथ प्रस्तुत हुने जस्ता कारणले सुदनप्रति मतदाताको सद्भाव रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार