सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

गत भदौ २० गते एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सन्दीप सोही उजुरीका आधारमा विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए ।

पछि काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसयता सन्दीपले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा जेलजीवन बिताइरहेका थिए। यस मुद्दाको अन्तिम टुंगो काठमाडौं जिल्ला अदालतबाटै लाग्नेछ ।

सन्दीपका वकिलले पीडित भनिएकी किशोरीको जन्ममितिमा प्रश्न उठाएपछि जिल्ला अदालतले उनी जन्मिएको अस्पतालबाट विवरण मगाएको थियो । पुस २५ गते नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जले जिल्ला अदालतलाई पठाएको विवरणमा ती किशोरीको जन्ममिति २०६१ साल जेठ १८ उल्लेख छ ।

अस्पतालले जन्म मितिको नयाँ विवरण पठाएपछि यस प्रकरणमा नयाँ ट्विस्ट आएको हो। यदि त्यो जन्ममिति प्रमाणित भएमा घटना घटेको भनिएको मितिमा किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको पुष्टि हुनेछ । पीडित युवती बालिग प्रमाणित हुँदा मुद्दा कमजोर हुने र सन्दीपलाई त्यसको लाभ पुग्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार