टेम्केमैयुङ गाउँपालिकाको १४ औँ गाउँसभाले गर्यो ५२ करोड बराबरको बजेट सार्वजनकि

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले १४ औँ गाउँसभाबाट ५२ करोड वजेट सार्वजनिक गरेको छ । पालिकाले ‘कृषि पर्यटन, साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८०र ८१ का लागि ५२ करोड ५७ लाख ९२ हजार एक सय ७० रुपैया बराबरको बजेट सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए । उनका अनुसार  चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट सार्वजनिक भएको छ ।

बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सडक तथा भौतिक पूर्वाधारको विकाससँगै कृषिलाई पहिलो प्राथमिकतामा राखिएको बताइन् । कृषि उत्पादनमा जोड दिँदै बजारीकरणमा ध्यान दिने, गाउँपालिकालाई दूध र मासुमा आत्मानिर्भर बनाउने, एक घर एक करेसाबारी कार्यक्रमलाई जोड दिने, गाउँपालिकामा चिलिङ भ्याट सहितको डेरी स्थापना गर्ने, कृषकलाई उत्पादनमा आधारित अनुदानमा जोड दिने लगाएत विभिन्न कार्यक्रम समेटिएको जानकारी दिइन् । त्योसँगै सडक भौतिक पूर्वाधार विकास, पर्यटनको क्षेत्रमा आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको उपाध्यक्ष राईले बताइन् ।

सभाले विनियोजन विद्येयक २०७९ र आर्थिक संधोधन विद्येयक सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय सन्दिप न्यौपानेले जानकारी दिए । गाउँसभाले टेम्केमैयुङ गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विद्येयक २०७९, प्राविधिक कर्मचारी फिल्ड भक्ता कार्यविधि २०७९, उन्नत जातका पशुपन्छी वितरण तथा व्यावस्थापन कार्यविधि २०८०, टेम्केमैयुङ गाउँपालिकाको कर्मचारी तह बृद्धि सम्बन्धी कार्यविधि २०८०, टेम्केमैयुङ गाउँपालिकाको सार्वजनिक खरिद नियमावली २०८०, साना सिंचाई योजना सञ्चालन निर्देशिका २०८० र कर्मचारी प्रोत्साहन भक्ता कार्यविधि, २०७५ पहिलो संशोधन पारित गरेको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाको आम्दानीको दायर कमजोरसँगै केन्द्र सरकार र प्रदेश सरकारबाट आउने बजेट कटौती हुँदा योजना सञ्चालन तथा व्यावस्थापनमा समस्या भएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । स्थानीयबाट धेरै योजनाको माग भएपछि माग अनुसारको योजना सञ्चालनमा कठिनाई भएकाले जनप्रतिनिधिहरुले जनताको गालि खानुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष बस्नेतको भनाइ छ । जनताको तर्फबाट आएका गुनासाहरुलाई सवै जनप्रतिनिधिहरुले उचित ढंगले सम्बोधन गर्दै बजेट अभावमा गाउँपालिकाले सोचे अनुरुप योजना सञ्चालन गर्न नसकेको बारेमा प्रष्ट पार्न आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।

‘यो वर्ष जनताबाट माग भएअनुसारका योजना सञ्चालनमा समस्या भएको छ’ अध्यक्ष बस्नेतले भने,‘सरकारबाट आउने बजेट कटौती हुँदा धेरै हामीलाई योजना छनौट गर्न सकस परेको छ । काम सम्पन्न भएका योजनाहरुको दायित्व सिर्जना भएको अवस्था छ । जनताले माग गरेका धेरै योजनाहरु समेट्न सकिएको छैन् । जसको कारण जनताले गाउँपालिका प्रति आक्रोश पोखेको अवस्था पनि छ । हामी जनप्रतिनिधिहरुले गाउँपालिकाको बाध्यतम्क अवस्थाको बारेमा जनतालाई बुझाउन आवश्यक छ ।’’

गाउँपालिकाले गौरवको कार्यक्रम अन्तर्गत दूध मिसन कार्यक्रम सञ्चालनमा ल्याउने अध्यक्ष बस्नेतको भनाइ छ । यो कार्यक्रम अन्तर्गत किसानलाई समेटेर उनीहरुको आयस्तरमा बृद्धिमा जोड दिने उनको भनाइ छ । गाउँपालिकामा आधुनिक उपकरण सहितको डेरी स्थापना गरेर दूधमा आत्मानिर्भर बनाउने लक्ष्य रहेको बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार