खाद्यान्न सहायताबाट अफ्रिकी देशलाई रिझाउने रुसी रणनीति

मस्को । रुसको सेन्ट पिटर्सवर्गमा आयोजित दुईदिने रुस–अफ्रिका सम्मेलनको पहिलो दिन बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकी देशहरूलाई खाद्यान्न सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युक्रेनसँगको खाद्यान्न निर्यातसम्बन्धी सम्झौता नवीकरण नगर्ने रुसको निर्णयले अफ्रिकी देशहरूमा खाद्यान्न संकट हुने चेतावनीबीच पुटिनले त्यसको बदलामा रुसले नै खाद्यान्न पठाउने बताएका हुन् ।

गत वर्ष संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा रुस र युक्रेनबीच खाद्यान्न निर्यातसम्बन्धी सम्झौता भएको थियो । त्यसको एक वर्षपछि हालै रुसले सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । सम्झौताअनुसार युक्रेनले ब्ल्याक सी हुँदै विश्व बजारमा सूर्यमुखी तेल, मकै, गहुँ, जौलगायत खाद्यान्न निर्यात गर्दै आएको थियो । यी खाद्यान्न निर्यातमा विश्वकै प्रमुख देशहरूमा पर्ने युक्रेनको निर्यात रोकिँदा अफ्रिकी देशहरूमा खाद्यान्न संकट हुने र विश्व बजारकै मूल्य बढ्ने राष्ट्रसंघले चेतावनी दिइसकेको छ । त्यसैले रुस आफैंले अफ्रिकामा खाद्यान्न पठाउने प्रतिबद्धता जनाएको हो ।

सम्मेलनमा पुटिनले आगामी तीन–चार महिनाभित्र ६ अफ्रिकी देशमा निःशुल्क खाद्यान्न आपूर्ति गर्ने बताए । अफ्रिकी देशहरू बुर्किना फासो, जिम्बाब्वे, माली, सोमालिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक र इरिट्रिया छन् । उनले प्रत्येक देशलाई २५ देखि ५० हजार टन खाद्यान्न दिने घोषणा गरेका छन् ।

सम्मेलनमा पुटिनले सम्झौताका प्रावधान पूरा नभएपछि नवीकरण नगरेको स्पष्टीकरण दिए । युक्रेनले आफ्नो निर्यातको ७० प्रतिशत उच्च तथा मध्यम आय भएका मुलुकमा गरेको र गरिब मुलुकहरूमा खाद्यान्न निर्यातसम्बन्धी सम्झौता पालना नगरेको उनको आरोप छ । पश्चिमा देशहरूको प्रतिबन्धले रुसले गरिब मुलुकहरूमा मल निर्यात गर्न नपाएको पनि उनको भनाइ थियो । ‘एकातर्फ पश्चिमा देशहरूको प्रतिबन्धले हाम्रो खाद्यान्न तथा मल निर्यात रोकिएको छ, अर्कोतर्फ विश्व खाद्य बजारमा रुसकै कारण संकट देखिएको आरोप पनि लगाइरहेका छन्,’ पुटिनले भने ।

अफ्रिकन युनियनका अध्यक्ष तथा कोमोरोसका राष्ट्रपति अजाली असौमानीले रुस–युक्रेनबीच शान्तिपूर्ण सहअस्तित्वमा जोड दिए । यसबाट यी दुई देशसँग खाद्यान्नका लागि निर्भर रहेका गरिब देशका जनताको ज्यान बच्ने उनको भनाइ थियो ।

रुस–अफ्रिकाबीचको पहिलो सम्मेलन सन् २०१९ मा पहिलो पटक भएको थियो । उक्त सम्मेलनमा ४३ अफ्रिकी देशका प्रमुख सहभागी थिए । यस पटकको सम्मेलनमा भने केवल १७ देशका प्रमुख सहभागी भएका छन् । सन् २०१८ मा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा आयोजित ब्रिक्स देशहरूको सम्मेलनमा पुटिनले रुस र अफ्रिकी देशबीच एउटा संगठन बनाउने धारणा राखेका थिए । त्यसपछि रुस–अफ्रिका साझेदार फोरम स्थापना भएको थियो, जसले हरेक तीन वर्षमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार