काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता सम्ममा गर्नेगरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारीबारे जानकारी दिएका हुन् ।
उनले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने जनाए । आयोगले माघको १०, ११ अथवा १२ गते भित्रमा निर्वाचन गर्नेगरी तयारी गरिरहेको उनको भनाइ थियो । त्यसैगरी रिक्त रहेको स्थानमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका विभिन्न पदहरुमा आगामी वैशाख महिनामा निर्वाचन गर्ने गरी सरकारलाई परामर्श दिइएको उनले जनाए ।
‘आगामी फागुन २१ गते रिक्त हुन आउने एकतिहाइ, यो चोटी १९ जना पर्नुभएको छ । रिक्त चाहिँ २० वटै हुँदैछ तर निर्वाचन चाहिँ १९ वटा पदको निर्वाचन माघको दोस्रो हप्ता सम्पन्न गर्नेगरी आवश्यक तयारी गरेका छौँ । मिति नेपाल सरकारले तोक्नुपर्ने भएको हुनाले आयोग तयारी अवस्थामा छ,’ उनले भने, ‘सम्भवतः माघको १०, ११, १२ भित्रमा कुनै उपयुक्त समयमा हामी यो राष्ट्रिय सभाको रिक्त हुने १९ वटा पदको निर्वाचन गर्छौं । त्यसैगरी प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १ र स्थानीय तहका २४ विभिन्न पदहरुमा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । त्यसको निम्ति पनि हामी अनौपचारिक रुपमा छलफलमै छौँ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत मतदाता नामावली संकलन गर्ने काम अगाडि बढाउने पनि जानकारी दिए । त्यस्तै विदेशमा भएका तर मतदाता नामावलीमा नाम नभएका नेपालीहरुको पनि मतदाता नामावलीमा नाम संकलन गर्ने गरी काम अगाडि बढेको जनाए ।