अर्जुन बस्नेत
भोजपुर
भोजपुरमा पछिल्लो समय पर्यटकको मन तान्ने पर्यटकीय स्थल मुन्दुम पदमार्ग बनेको छ । यहाँ आईपुग्ने पर्यटक एक पटकको घुमाईले मात्र धित नमर्ने बताउँछन् । प्राकृतिक सौन्दर्य र किरात मुन्दुमी सँस्कृतिले भरिपूर्ण मुन्दुम पदमार्ग पूर्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
पूर्वी नेपालका खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ पदमार्ग ‘मुन्दुम पदमार्ग’ स्थापित भएको हो । विभिन्न संस्कार, संस्कृतिको आनन्दसँगै प्राकृतिक सौन्दर्यतालाई नियाल्दै पदयात्रा गर्न चाहने पर्यटकको रोजाइँमा पर्ने पर्यटकीय गन्तव्य बनेको छ, ‘मुन्दुम पदमार्ग’ । पदमार्ग अहिले टेम्केमैयुङ गाउँपाउँपािलमा २७ किलोमिटर बनिसकेको छ भने ६ किलोमिटर बन्न बाँकी रहेको टेम्केमैयुङ गाउँपालिकाका इन्जिनियर जीतेन्द्र अधिकारीले बताए । यस्तै अन्य पालिकामा भने ४२ किलोमिट बनेको र ३२ किलोमिटर गरी जम्म ३९ किलोमिटर बन्न बाँकी रहेको मुन्दुम पदमार्गका अभियान्ता पावीहाङ राईले बताए ।
पदमार्गमा सिडि, फोहोर व्यावस्थापनका लागि डस्वीन, चौतारा, पार्टी, खानेपानीको धारा र पर्यटकलाई बाटोको मार्गनिर्देश गर्ने संकेतिक चिन्हहरु निमार्ण भएको राईले बताए ।
विशुद्ध लेकाली हावापानीसँगै हिमाललाई नजिकबाट नियाल्न सकिने यो पदमार्गमा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकहरुको आवागमनमा बृद्धि आएको छ । आनन्ददायी पैदलयात्रा गर्न सकिने यो पदमार्ग एक लौकिक सुन्दर प्राकृतिक सिर्जनाको रुपमा स्थापित हुँदैछ । यो पदमार्गले घुम्न आउने पर्यटकलाई प्राकृतिक मनोरमतासँगै किरात सँस्कार र संस्कृतिको भरपुर आनन्द दिलाएको छ । पछिल्ला केहि वर्षहरुमा बाह्य तथा आन्तरिक पर्यटकको प्रमुख रोजाईमा परेको यो पदमार्गमा पुग्नेहरु आनन्दित हुने गरेका छन् ।
पदमार्गमा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा सबैभन्दा बढि पर्यटकको ओईरो लाग्ने गर्दछ । पर्यटकका लागि स्थानीय मिठो खानासहितका होमस्टे, गोठबासहरुको सुविधा पनि रहेको छ । पदमार्ग घुम्न आउने पर्यटकहरुलाई आफूले सक्ने मिठो खानेकुरा र आवासको सेवा प्रदान गरिरहेको सावा घरबास (होमस्टे) हाँसपोखरीका सञ्चालक याङमीयाङ राईले बताए । उनका अनुसार गोठबासको अग्र्यानिक खाना र बासले पर्यटकहरु अझ उत्साहित र प्रफुल्लित बन्ने गरेका छन् ।
मुन्दुम पदमार्गमा रहेको ‘साल्पापोखरी’ लाई मुन्दुमी किरात प्रकृति पुजकहरुले गोप्य धार्मिक, साँस्कृतिक र प्राकृतिक थलोको रुपमा लिइन्छ । किरात राईहरुको ‘सुप्तुलुङ’ अर्थात तिनचुलाको स्वरुप जस्तैगरि सुरु हुने यो पदमार्ग खोटाङ जिल्ला साकेला गाउँपालिकाको तावाभञ्ज्याङ, भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका लेखर्कको ऐतिहासिक पान्धारे बजार, साहुबास, टेम्केडाँडा, चखेवाभञ्ज्याङ, मलुवापोखरी दलसिंगे, जलजले, तिम्माको मैयुङ, ओखलीढुंगा, चप्लेटीढुंगा हुँदै भोजपुर नगरपालिकाको बाघखोरसम्म करिब चार दिनमा पुरा गर्न सकिन्छ ।
समुन्द्री सतहदेखि ४ हजार १५३ मिटरसम्मको उचाईसम्म फैलिएको किरात मुन्दुमी मौलिकता बोक्ने यस पदमार्गले किरात सँस्कार र सँस्कृति जोडेको सँस्कृतविद् कमलजंग राईले बताए । ‘किरात मुन्दुमी परिवेशको महत्व अथ्र्याउने यो पदमार्ग आफैँमा एक जीवन्त उदाहरण हो’ उनले भने, ‘वास्तविक किरात मुन्दुमको दर्शन भेटिने यो पदमार्ग एउटा महत्वपूर्ण र जिज्ञासात्मक पर्यटकीय गन्तव्य हो ।’
पदमार्गलाई जोड्दै टेम्केमैयुङ गाउँपालिकाले सिंगो पर्यटन र कृषि क्षेत्रको विकास तथा विस्तारमा प्राथमिकताका काम अघि बढाएको छ । पदमार्गमा आउने पर्यटकलाई लक्षित गर्दै गाउँपालिकाको चखेवा भञ्ज्याङमा पर्यटन सूचना केन्द्र निर्माण गरिएको छ । पदमार्ग यात्राका लागि आउने पर्यटकले सूचना केन्द्रबाट पदमार्ग सम्बन्धि सम्पूर्ण जानकारी हासिल गर्न सक्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । ‘पदमार्ग घुम्न आउने आगन्तुकले पदमार्गको विशेषता, यसको भौगोलिक अवस्था, घुम्नुपर्ने स्थान र गन्तव्यहरु, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकहरुको सुरक्षित र सहज यात्राका विषयमा आवश्यक जानकारी सूचना केन्द्रबाट प्राप्त गर्न सक्नेछन्’ उनले भने ।
मनमोहक हिमश्रृङ्खला, पहाडी थुम्का, समथर फाँटका मनोरम दृश्यहरुको आनन्द लिँदै प्रत्येक दिन विहानीको झुल्के घामसँगै घाम अस्ताउञ्जेल घामसँगै यात्रा गर्नु मुन्दुम पदमार्गको प्रमुख विशेषता हो । उत्तरी मोहोडा अर्थात नर्थ फेस भएर यो पदमार्गमा पदमार्गीहरुको मन र शरिरलाई आँखै अगाडि देखिने हरिया फाँटहरु र हिमश्रृंखलाको आकर्षणले अघि बढ्न अझ प्रेरित गर्दछ । साँस्कृतिक र मौलिकतासँग प्राकृतिक सौन्दर्यलाई जोड्ने यो पदमार्गले छोटो समयमै अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि बनाएको अध्यक्ष बस्नेतको दावी छ ।
किरात मुन्दुम सँस्कृतिलाई जगेर्ना गर्दै प्राकृतिक सम्पदाको रुपमा प्रर्बद्धन गर्नसके पदमार्गलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने गाउँपालिका उपाध्यक्ष रमादेवि राईको विश्वास छ । यसको महत्वलाई पुस्तान्तरण गर्न सकिने प्रचुर सम्भावना रहेको उनी बताउँछिन् ।
विशेषगरि किरात मुन्दुमको प्रमुख विशेषता बोक्ने यस पदमार्गको प्राकृतिक दृश्यावलोकन र पदयात्राका लागि पर्यटकहरु आउने गरेका छन् । यो वर्ष टेम्केमैयुङ गाउँपालिकाको तथ्यांक अनुसार पदमार्गमा करिव ४० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् । पदमार्गको व्यवस्थापन र पदयात्रामा आईपर्ने समस्या पहिचानका लागि गाउँपालिकाले स्थलगत अनुगमन गर्ने गरेको छ । ‘गाउँपालिकाले पर्यटकको सहज र सुरक्षित यात्राका लागि ध्यान दिएको छ’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकेन पौडेलले सुनाए ।
प्राकृतिक मनोरमताको भरपुर आनन्द लिँदै हिमालको दृश्यलाई नजिकबाट नियाल्न चाहने पर्यटकका लागि मुन्दुम पदमार्ग एक प्रमुख गन्तव्य हो । सरदर ५१ किलोमिटर दुरीको यो पदमार्गले भोजपुरसँगै खोटाङ, सोलुखुम्बु र संखुवासभा जिल्ला जोडेको छ । नेपाल सरकारको १०० नयाँ पर्यटकीय गन्तव्यमा सुचिकृत मुन्दुम पदमार्ग भोजपुरको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाको कुलुपुङ सोलुपास, साल्पापोखरी, सिलिछो क्षेत्रका साथै खोटाङको साकेला गाउँपालिका, केपिलासगढी गाउँपालिका क्षेत्रसम्म फैलिएको छ ।
मुन्दुम पदमार्गको कयौँ विशेषताहरुमध्ये अर्को विशेषता भन्नु ‘लुङ’ अर्थात ढुंगाबाट बनाईएका आकर्षक सिँढि, पाटिपौवा, विभिन्न किरात संस्कार झल्काउने आकृतिहरु, मुन्दुमी शिलालेखसहितका चौताराहरु र धाराहरु हुन् । जसले यात्रीहरुलाई यात्रा गर्न थप आनन्दित र जिज्ञासु बनाउँछ । यो स्तरको पदमार्ग निर्माण गर्न स्वीस सरकार, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रुपमा लगानी गरेका छन् । जसले पर्यटनको माध्यमबाट भोजपुरको पर्यटकीय स्थलहरुको प्रचारप्रसारसँगै रोजगारी सिर्जना गर्ने लक्ष रहेको छ ।
पदमार्गले पर्यटक त लोभ्याएको छ नै, यसले पर्यटन क्षेत्रबाट स्थानीय स्तरमा आयआर्जनको माध्यमसमेत बनेको छ । यसअघि पदमार्ग निर्माणमा करिव ९ करोड रुपैयाँ खर्च भईसकेको छ भने अझै केहि स्थानमा पदमार्ग निर्माको काम सकिएको छैन । चालु आर्थिक वर्षमा २ करोड ४५ लाख रुपैयाँ लगानीमा पदमार्गको बाँकी काम भइरहेको छ । जसमा प्रदेश सरकारको ४५ लाख र स्थानीय तहको ४५ लाखबाहेक संघीय सरकारको लगानी रहेको गाउँपालिकाले जनाएको छ ।
विमानस्थल सडक कालोपत्रेले पर्यटक बढ्दै
विकासले नयाँ गतिसँगै २०७३ सालमा भोजपुर विमानस्थलको स्तरोन्नतीको काम सुरु भएको थियो । २०७४ वैशाखमा विमानस्थल कालोपत्रे बन्यो । नेपाल वायू सेवा निगमले हप्तामा ५ पटकसम्म उडान भर्न थालेपछि विरामी, यात्री र भोजपुर घुम्न आउने पर्यटकलाई सहज भएको छ ।
विमानस्थल कालोपत्रे भएसँगै विमानस्थलसम्म पुग्ने सडकखण्ड प्रदेश सरकारको लगानीमा कालोपत्रे भएको छ । जसले भोजपुरे नागरिकलाई र घुम्न आउने पर्यटकलाई थप सहजता मिलेको छ । दुई वर्ष अगाडि प्रदेश सरकारको लगानीमा आसफल्ट प्रविधिबाट भोजपुर विमानस्थल र सदरमुकाम जोड्ने ५ किलोमिटर सडकखण्ड कालोपत्रे गरिएको हो ।
प्रदेश सरकारको १६ करोड २ लाख रुपैयाँ लागतमा बनेको उक्त प्रविधिको कालोपत्रेको मोटाई मात्र ४ सेन्टिमिटर रहेको छ । यो प्रविधिको कालोपत्रे जिल्लामै पहिलो पटक गरिएको हो । यो जिल्लाका लागि उच्च गुणस्तरको नयाँ प्रविधिको कालोपत्रे भएकाले प्रदेश सरकारको महत्वपूर्ण योजना भएकाले कालोपत्रे कामलाई गुणस्तरीय बनाएको पुर्वाधार विकास कार्यलय भोजपुरले जनाएको छ । बिमानस्थल जोडिने सडक गुणस्तरीय कालोपत्रे भएपछि यात्रुका साथै ग्रामिण भेगबाट उपचारका लागि जिल्ला अस्पताल आउने बिरामीलाई पनि सहज भएको छ ।
कच्ची सडकको सास्ती हटेपछि ट्याक्सी, अटो ट्याम्पो जस्ता चारपाङ्ग्रे सवारी साधनबाट आरामदायी यात्रा गर्न सहज बनेको छ । सडक कालोपत्रे भएपछि जीवनस्तर नै फेरिएको छ । विगतमा जस्तो हिलो र धुलोको सास्ती पनि टरेको छ, यो जिल्लाबासी र भोजपुर आउने पाहुनाका लागि खुसीको कुरा हो ।
दिमालुङ स्मारक पार्कले तान्दैछ पर्यटक
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दुई करोड लगानीमा दिमालुङ स्मारक पार्क निर्माण भएको छ । किरात सस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा स्मारक पार्क निर्माण गरिएको हो । किरात राईहरुको आस्थाको केन्द्रको रुपमा रहेको हतुवागढी २ र ३ मा पर्ने यो स्थानमा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय तथा भवन तथा शहरी विकास कार्यालय धनकुटाले २ करोड ८ लाख रुपैयाँ लगानी गरेका छन् । गाउँपालिकाको पाँच लाखसहित २ करोड १३ लाख लगानीमा पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।
आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु गरिएको पार्कलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने लक्ष्य रहेको छ । विगतका तीन आर्थिक वर्षमा गरी २ करोड १३ लाख रुपैयाँ पार्कमा लगानी भइसकेको उनले जानकारी दिए । ‘गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा पार्क निर्माण गर्न सफल भएका छौँ’ अध्यक्ष राईले भने, ‘किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौँ । यसले संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने हाम्रो उद्देश्य हो ।’
यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्गको अन्तिम विन्दुको रुपमा रहेको छ । यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात सँस्कृतिसँग जोडिएका विभिन्न संरचनाहरु निर्माण गरिएको अध्यक्ष राईले जानकारी दिएका छन् । किरात ईतिहास बोकेको विषेश खालको दिमालुङ ढुङगाको संरक्षण गर्दै पार्क निर्माण गरिएको छ ।
‘यहाँ एउटा किरात इतिहास बोकेको ठुलो दिमालुङ ढुङ्गा छ’ राईले भने, ‘राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुङ्गा हुने भएकोले पार्कको नाम दिमालुङ रहेको हो ।’ यो ठाउँले निकै ठुलो ऐतिहासिक महत्व बोकेको उनी बताउँछन् । त्यसैले यसलाई पर्यटनसँग जोडेर विकासमा जुटेको उनको भनाइ छ ।
पर्यटनलाई लक्षित गरेर गाउँपालिकाका ऐतिहासिक क्षेत्रको योजनाबद्ध विकासमा जुटेको अध्यक्ष राईले जानकारी दिए । किरात समुदायले वर्षमा दुई पटक यो क्षेत्रमा साकेला नाच्ने र पुज्ने गरेका छन् । यसले यहाको संस्कृतिको संरक्षणसँगै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ । ‘हतुवागढी आफैँमा एक इतिहास बोकेको गाउँपालिका हो’ अध्यक्ष राईले भने, ‘यहाँ धेरै पर्यटकीय सम्भावना बोकेका ऐतिहासिक क्षेत्रहरु छन् । हामीले यस्ता क्षेत्रलाई पर्यटनसँग जोडेर विकास तथा विस्तार गरिरहेका छौँ ।’
दिमालुङ पार्कको आवश्यक व्यवस्थापनको लागि कोशी प्रदेश सरकारको २५ लाख र गाउँपालिकाको ७ लाख लगानी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । ‘पर्यटनसँग जोडेर गाउँपालिकालाई आर्थिक रुपमा मजबुत बनाउने सोचका साथ काम गरिरहेका छौँ’ उनले भने, ‘विगतका आर्थिक वर्षबाट नै यहाँको विकास गरिरहेका छौँ । यो आर्थिक वर्षमा पनि यसको थप विकासको लागि ३२ लाख रुपैयाँ बराबरको काम गर्ने योजना छ ।’
पछिल्लो समयमा प्रदेश सरकार र स्थानीय सरकारले पर्यटनसँग जोडेर ऐतिहासिक क्षेत्रको योजनाबद्ध विकासमा खेलेको भूमिका प्रशंसायोग्य रहेको भोजपुरका स्थानीयबासी प्रकाश बस्नेतले बताए । पर्यटकीय संभावना भएका ठाउँको संरचना निर्माणपछि प्रचारप्रसार गरेर पर्यटक भित्र्याइ गाउँपालिकाको राम्रो आर्थिक श्रोत रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।