भोजपुर । सडमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेको छ ।
तिव्र गती र स्वास्थ्यमा आएको खराबीका कारण दुर्घटना हुन सक्ने भन्दै सडकमै चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेको हो ।
अधिकांश दुर्घटना चालककै कमजोरीका कारण हुने भएकाले सवारी चलाइरहेका १ सय ६० चालक र सहचालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय भोजपुरका प्रमुख कमल प्रसाद दाहालले बताए । यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाई छ ।
असार ५ गतेबाट संचालन भएको ट्राफिक सप्ताहा कार्यक्रमको आज पाँचौ दिन जिल्ला अस्पताल भोजपुरको प्राविधिक सहयोगमा चालकको उच्च रक्तचाप, यन्त्रिक परीक्षण लगायत मानसिक तथा शारीरिक थकानको परिक्षण गरिएको छ ।
दुर्घटना न्यूनीकरणका उपायमध्ये चालकको स्वास्थ्य परीक्षण पनि एक भएका कारण स्वास्थ्य परीक्षण सुरु गरेको जिल्ला ट्राफिक कार्यालय भोजपुरले जनाएको छ ।