पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाबाट ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पारित

भोजपुर । पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाबाट ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पारित भएको छ । आर्थिक २०८१÷०८२ को नीति तथा कार्यक्रम गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु र पुँजीगत गरी कुल ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पेश गरीन् । गाउँसभा मार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पशुपालन कार्यक्रमलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले कृषकहरुसंगको लागत साझेदारीमा फलफूल बगैंचा विकास तथा एक घर एक करेसा बारी कार्यक्रम सञ्चालन गरी आर्थिक उपार्जनसंग जोड्ने नीति लिएको छ ।

पशुपालन व्यवसायमा कृषकलाई जोडनेका लागि वडा नं १, २, ३ एक कृषक एक उन्नत गाई वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रम अन्तर्गत यहाँका कृषकलाई करिव दुई सय उन्नत जातका गाई वितरण गर्ने जनाइएको छ । जसका लागि विभिन्न शिर्षकमा ६० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै वडा नं ४ मा खुर्सानी ब्रान्डिङ र वडा नं ५ र ६ बाख्रापालनको लागि कार्यक्रम सञ्चालन हुने जनाइएको छ । फुसको छानो हटाउनको लागि प्रत्येक वडामा २० लाखका दरले एक करोड २० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । त्यस्तै तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट सडक कालोपत्रको, प्रशासनिक भवन निर्माणको लागिसमेत बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

सडक कालोपत्रको लागि एक करोड सात लाख र प्रशासनिक भवन निर्माणको लागि एक करोड बजेट विनियोजन गरिएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष किरण राईले यहाँको जनताको आवश्यकता र गाउँपालिकाको प्राथमिकतालाई ध्यानमा राख्दै बजेट, नीति तथा कार्यक्रम तयार गरिएको बताए । केन्द्र सरकारबाट आउने बजेट बर्षेनी घट्दै जाने समस्याको कारण जनताको इच्छा आकाङ्क्षा समेट्न स्थानीय सरकारलाई समस्या हुने गरेको बताए । उपलब्ध भएको बजेटको अधिकतम सदुपयोग गर्ने उद्धेश्यका साथ आगामी आर्थिक वर्षको लागि बजेट नीति तथा कार्यक्रम बनाइएको अध्यक्ष राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार