धादिङ । नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरोले दुइटा यात्रु बस बगाएको छ । यस सडक खण्डको सिमलतालमा आज बिहान साढे तीन बजेतिर पहिरोले दुईवटा यात्रुवाहक बस बगाएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताउनु भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु सवार थिए ।
यस्तै एक अर्को बसमा ढुंगा लाग्दा उक्त बसका चालकको निधन भएको छ । प्रहरी चौकी जुगेडी, चितवनका अनुसार आजै बिहान तीन बजे भरतपुर- २९ सत्रकिलोस्थित नारायणगढ-मुग्लिन सडक खण्डमा अचानक माथिबाट पहिरोसहित ढुङ्गा खसी बसमा लाग्दा चालक मेगनाथ विक गम्भीर घाइते भएका थिए । नवलपरासीको सुनवल- ४ बस्ने मेगनाथलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पुर्याइए पनि उपचारका क्रममा उनको निधन भएको हो । बसका यात्रुलाई केही नभएको प्रहरीले जनाएको छ ।