काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका सचिवहरुलाई मन्त्रालयका कामहरु ढुक्कले गर्न निर्देशन दिनुभयो । मंगलबार सिंहदरबारमा सचिवहरुसँगको कार्यक्रममा उहाँले राम्रो काम गर्नेलाई सरकारले जिम्मा लिने भन्दै सचिवहरुलाई ढुक्कले काम गर्न निर्देशन दिनुभएको हो ।
तर गलत काम गर्ने कर्मचारीले भने गलत कामको जिम्मेवारी आफैँ लिनुपर्ने समेत उहाँले प्रष्ट पार्नुभयो । ‘हस्ताक्षर नगर्ने फसिन्छ भन्ने छ, फसिँदैन । फसिन्छ भन्ने एउटा समय थियो भने पनि अब फसिँदैन । ढुक्कले काम गर्नुहोस्,’ उहाँले भन्नुभयो, ‘ कर्मचारीहरुले ढुक्कले काम गर्दाको प्रोटेक्सन सरकारले गर्छ । तर कसैले नराम्रो काम गर्यो भने चै व्यक्तिगत उत्तरदायित्व लिनुपर्छ ।’
सरकार परिवर्तन भएपछि सेटअप मिलाउनमात्र सचिवहरुको सरुवा गरिएको समेत उहाँले बताउनुभयो ।