दाङ । दाङमा खोलाले अटो बगाउँदा दुई जना बेपत्ता भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । दाङको बेतने खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका ५५ वर्षकी सीता आले र सुर्खेत घर भइ हाल तुलसीपुर-४ खाद्रेमै बस्ने अन्दाजी १७ वर्षीय मन्जु खड्का बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
शुक्रबार रातको समयमा तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई बेतने खोलाले बगाएको थियो । अटोमा पाँच जना सवार रहेको र चालकसहित तीन जना सकुशल उद्धार गरिएको हो । प्रहरीका अनुसार अटो चालक तुलसीपुर-४ खाद्रे ४६ वर्षका हरि किशन विक, सोही ठाउँका अन्दाजी ३४ वर्षकी सुनिता थापा र ७ वर्षका सुशान्त आलेको उद्धार गरिएको प्रहरीले जनाएको छ । बेपत्ताको अहिले पनि खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।