कोशीको बहाव ५ लाख ५७ हजार क्युसेक, पुलमाथिबाट बग्यो पानी

विराटनगर । सप्तकोशी नदिको ब्यारेजमा पानीको बहाब ५ लाख ५७ हजार क्युसेक पुगेपछि ब्यारेजमाथिको पुलबाट पानी बग्न थालेको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार ब्यारेजको पुलको १८ नम्बर ढोकामाथिबाट पानी बगेको हो । ब्यारेजका ५६ वटै ढोका खुला गरिएको भएपनि पहाडी क्षेत्रमा भइहरेको लगातारको वर्षाको कारण पानीको बहाब निरन्तर बढिरहेको उनले जानकारी दिए ।

पुलबाटै पानी बग्न थालेपछि कोशी ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ । अपरान्ह ५ बजे कोशीको बहाव प्रतिसेकेण्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको छ ।

स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट सवारीसाधन र मानिस आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको हो । सप्तकोशीमा जलसतह ३७ वर्षयताकै उच्च तहमा पुगेको स्थानीय प्रशासनले जनाएको छ । ब्यारेजको कन्ट्रोल गर्ने भारतीय पक्षले कोशीमा बाढीको बहाव प्रतिसेकेण्ड ६ लाख ८१ हजार ६ सय ३९ क्यूसेक पुग्नसक्ने पूर्वानुमान गरेको छ ।

यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । पहाडी जिल्लाहरुमा वर्षा नरोकिएका कारण बहाव अझै बढ्न सक्ने अनुमान छ ।

कोशी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुनसरी स्थानीय प्रशासनले आग्रह गरेको छ । शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङसहितले ब्यारेज र आसपासको क्षेत्रको अनुगमन गर्दै सतर्क अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार