मोरङ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरिएको छ ।
उहाँलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारीलाई जहाज मार्फत काठमाडौंमा ल्याउन लागिएको बताइएको छ ।
अधिकारीलाई नेकपा एमालेको सचिवालय बैठकले निलम्बन गर्ने प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको थियो । अधिकारीमाथि छानबिनका लागि आवश्यक तयारी गर्नेसमेत निर्णय एमालेले गरेको थियो ।
कोशी प्रदेशको तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहनु भएका अधिकारी वैदेशिक भ्रमणको मापदण्ड पूरा नगरी जापान पुगेकोमा त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात रहेको भन्दै फिर्ता पठाएको थियो । नैतिक प्रश्न उठेपछि अधिकारीले मन्त्रीबाट राजीनामा दिनु भएको थियो । उहाँसँगै जापान अध्यागमन कार्यालयबाट फर्काइएका अरु तीन जनालाई भने पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जापानबाट फर्काइएका तीनसहित उक्त प्रकरणमा पक्राउ परेका ६ जनालाई हिजो जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि ४ दिन थुनामा राख्न काठमाडौं प्रहरी परिसरलाई अनुमति दिएको छ ।