अर्जुन बस्नेत
भोजपुर । एक लाख पर्यटक भित्राउने उद्धेश्यका साथ मुन्दुम ट्रेल भ्रमण वर्ष माघ १ बाट सुरु हुने भएको छ । मुन्दुम पदमार्गले छोएका पालिकाहरुले माघ १ गतेबाट मुन्दुम पर्यटन भ्रमण वर्ष घोषण गरी २०२५ लाई पर्यटन वर्ष मनाउने तयारी भएको पत्रकार सम्मेलन मार्फत टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
प्राकृतिक सौन्दर्य र किरात मुन्दुमी सँस्कृतिले भरिपूर्ण मुन्दुम पदमार्ग पूर्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले उक्त पदमार्गमा एक वर्षमा एक लाख पर्यटक भित्राउने उद्धेश्यका साथ मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ आयोजना गर्न लागिएको अध्यक्ष बस्नेतको भनाई छ ।
पर्यटन भ्रमण वर्षमा पदमार्गमा आउने पर्यटकहरुलाई लक्षित गरी टेम्केमैयुङ गाउँपालिकाले २३ जना गाईड र भरीयालाई तालिम समेत दिइसकेको छ । पदमार्गमा देखिएका खाने पानी, वासस्थान र शौचालयको समस्यालाई समाधान गर्न काम सुरु भईसकेको टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकेन पौडेलले बताए ।
भौतीक संरचना निर्माण, खानेपानीको व्यवस्था, वाटो निर्माण, शौचालयको निर्माणमा केन्द्र, प्रदेश र पालिकाको १ करोड ८० लाख बजेटको काम यहि आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरी काम सुरु हुन लागेको अधिकृत पौडेलले जानकारी दिए । उक्त कामका लागि समिति समेत बनाईसकिएको छ ।
सरकारको सय पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको रहेको छ । विशुद्ध लेकाली हावापानीसँगै हिमाललाई नजिकबाट नियाल्न सकिने यो पदमार्ग पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । पर्यटकहरु समुन्द्री सतहदेखि करिब ४ हजार १ सय ५४ मिटरको उचाईस्थित सिलिचुङ पिक पुगेर पर्किने गर्दछन् ।
मुन्दुम भ्रमण वर्षको उद्घाटन माघ १ गते संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री बद्री पाण्डेले गर्ने छन् । भ्रमण वर्षको पहिलो दिन माघ १ गते बाट पाँच गतेसम्म टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ४ नागीको चखेवामा बृहत सांस्कृतिक तथा पर्यटन कृषि मेलाको आयोजना समेत गरिएको छ । स्थानीय स्तरका कृषि उत्पादनहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हुने मेलामा कृषि प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगितीक प्रस्तुती रहने छ ।