इटहरी । प्रहरीले हरेक दिनजसो लागूऔषधसहित मानिसहरूलाई पक्राउ गर्दै आएको छ । छोटो समयमै आर्थिक उपार्जन गर्नका निम्ति लागूऔषध कारोबार गर्ने गरेको प्रहरीको विभिन्न अध्ययनमा देखिने गरेको छ ।
पूर्वी नेपालमा प्रहरीले हरेक दिनजसो लागूऔषध कारोबारीलाई पक्राउ गर्दै आएको हो । यसैबीच झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका १ बस स्टेण्डमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले इलामको सूर्योदय नगरपालिका ८ का २८ वर्षीय सुमित श्रेष्ठलाई ६ ग्राम १५० मिलिग्राम ब्राउनसुगरसहित र दमक नगरपालिका ४ का २१ वर्षीय सन्देश राईलाई १ ग्राम २०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
यसैगरी सुनसरीको इनरुवा नगरपालिका २ का २५ वर्षीय अजय कुमार मण्डललाई २७० मिलिग्राम ब्राउनसुगरसहित जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । यता, बराहक्षेत्र नगरपालिका २ का २६ वर्षीय विज्ञान राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल ९१ ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय चतराबाटले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १ प ११६२ नम्बरको टरसाइकलसहित बेलका २ उदयपुरका २४ वर्षीय प्रमोद चौधरी र २६ वर्षीय रोशन चौधरीलाई २ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्लो समय लागूऔषध कारोबारीलाई विशेष निगरानीमा राखिएको छ ।