निरोज कोइराला
भोजपुर । पछिल्लो समयमा मिडिया तथा पत्रकारहरुको संख्यामा बृद्धि हुदै जान थालेको छ । अहिले प्रत्येक जिल्लाहरुमा पत्रकारहरुको संख्या बिगतमा भन्दा क्रमिकरुपमा बढनेक्रम जारी छ । तर मिडिया तथा पत्रकारहरुको संख्या बढी रहदाँ पत्रकारहरु भने अल्छी हुदै गई रहेको देखिन्छ । पत्रकारिता क्षेत्रलाई समाज र समुदायको ऐनाकोरुपमा पनि हेर्ने गरिन्छ । तथ्यमा आधारित समाचार, अनुसन्धानात्मक लेख, र निष्पक्ष विश्लेषण पत्रकारिताको मूल आधार मानिन्छन ।
तर, पछिल्लो समय नेपालको पत्रकारितामा सिर्जनशीलता र लगनशीलताको कमी देखिन थालेको गुनासो पनि व्यापक मात्रमा बढदै जान थालेको छ । धेरै पत्रकारहरू समाचार लेख्नुभन्दा अरूले तयार गरेको सामग्री कपी गर्न मै व्यस्त हुने गरेको आरोप लाग्दै आएको छ । यो प्रवृत्तिले नेपाली पत्रकारिताको स्तर र विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ । यस बिभिन्न कारणहरु पनि हुन सक्छन ।
पत्रकारितामा कपि गर्ने प्रवृत्तिको कारणहरू
१. छिटो प्रकाशसन तथा सामग्री उत्पादनको दबाब
कार्यरत संचार माध्यममा समाचारलाई तुरुन्तै प्रकाशित गर्नुपर्ने प्रतिस्पर्धाले गर्दा धेरै पत्रकारहरूले सन्दर्भ सामग्री छानबिन गर्न समय दिन सक्दैनन् । यसको परिणाम स्वरूप, सजिलो विकल्पकारूपमा अरूले तयार गरेको सामग्री कपी गर्ने प्रचलन बढेको हुन सक्छ ।
२. स्रोत र अनुसन्धानको अभाव
नेपालमा रहेका धेरै सञ्चार माध्यम आर्थिकरुपमा मजबुत हुन सकि रहेका छैनन । उनीहरुसँग सीमित स्रोतसाधन छन् । सवैलाई आवश्यक प्रशिक्षण तथा अनुसन्धानका लागि समय कम हुने जसले गर्दा पत्रकारहरूले द्रुत समाधान खोज्न अन्यको सामग्री प्रकाशन गर्ने बानीको बिकास हुदै गएको पनि देखिन्छ ।
३. प्रेरणा र सिर्जनशीलताको कमी
सिर्जनशील लेखन र अनुसन्धानात्मक पत्रकारिताका लागि गहिरो अध्ययन, मेहनत, र इच्छा शक्ति आवश्यक पर्छ । तर, धेरै पत्रकारहरूमा यी गुणहरूको कमी देखिन्छ । यसमा सुधार गर्न सकिएमा सिर्जनशीलता पनि बढछ ।
४. अनलाइन मिडियाको प्रभाव
सामाजिक सञ्जाल र अनलाइन समाचार पोर्टलहरूको बढ्दो प्रभावले ‘पहिले प्रकाशन गरौं, तथ्य पछि हेर्नु’ भन्ने प्रवृत्ति जन्माएको छ । यसले कपी गर्ने अभ्यासलाई झन् प्रोत्साहन गरेको देखिन्छ । त्यसैले आधिकारिकता र तथ्य बुझने कार्य समेत ओझेलमा परेको देखिन्छ ।
यस्ता बिभिन्न कारणले पत्रकारिता क्षेत्रमा बिभिन्न प्रश्नहरु पछिल्लो समयमा बढदै जान थालेको छ । यसको निराकरणका लागि केही प्रयासहरु पत्रकार तथा संचारकर्मीहरुले गर्न जरुरी देखिन्छ । यो प्रवृत्ति सुधार हुन नसेकमा निम्न परिणामहरु देखिन सक्छन ।
१. विश्वसनीयतामा ह्रास
आफु सिर्जनशील हुन नसकिएमा प्रकाशित समाचारले जनतालाई गलत सूचना दिन्छ । जसले पत्रकारप्रतिको विश्वासलाई कमजोर बनाउन मद्धत मिल्छ । त्यसैले पत्रकारले विश्वसनीयता कायम राख्न जरुरी छ ।
२. पत्रकारिताको स्तर खस्किने
अनुसन्धान र गहिरो विश्लेषणको अभावले पत्रकारितालाई सतही र कमजोर बनाउँछ । तसर्थ पत्रकार जहिले पनि पत्रकारिताको स्तर घटाउने होइन बढाउने तर्फ लाग्नु पर्छ ।
३. प्रतिस्पर्धात्मक क्षमता घट्ने
अल्छीपना तथा अरुका सामाग्रीहरु कपी गर्ने प्रवृत्तिले पत्रकारहरूलाई व्यक्तिगत र व्यवसायिकरूपमा सक्षम बन्ने भन्दा पनि कमजोर बनाउँछ । आफु सिर्जनात्मक हुने सीपबाट पनि पत्रकारहरु पछि पर्ने संभावना हुन्छ ।
समस्या समाधानका उपायहरू
१. अनुसन्धानात्मक पत्रकारिता
पत्रकारहरूले समाचारलाई गहिराईमा अध्ययन र अनुसन्धान गर्ने बानी अगाल्न जरुरी देखिन्छ । मिडिया तथा सञ्चार गृहहरूले अनुसन्धानका लागि स्रोत र समयको व्यवस्थापन गर्न पनि जरुरी छ ।
२. तालिम र सीप
पत्रकारहरूलाई सिर्जनशील लेखन र तथ्य आधारित समाचार निर्माणमा तालिम दिन आवश्यक छ । जसले गर्दा पत्रकारहरुमा उर्जा थपिनुका साथै सिर्जनशील बन्न मद्धत पुग्छ ।
३. अनुशासन र जिम्मेवारीको बोध
पत्रकारिताको मुल्य र मान्यतालाई आत्मसात गर्दै व्यक्तिगत जिम्मेवारी लिनु पर्ने आवश्यकता छ । पत्रकारितासँग सम्वन्धीत ऐन नियम र आचार संहिताको पूर्णपालनामा पनि पत्रकार जिम्मेवार बन्नु पर्छ ।
४. नयाँ पिढीलाई प्रोत्साहन
नयाँ पुस्ताका पत्रकारलाई नयाँ विचार, नवीन शैली, र अनुसन्धानमुखी सोचलाई अघि बढाउन प्रेरित गर्नुपर्छ । जसले गर्दा पत्रकारितामा रुची राख्ने युवाहरुलाई पनि सहयोग मिल्छ ।
पत्रकारिता क्षेत्र नीतिगत सिद्धान्त भन्दा पनि जिम्मेवारी बहनबाट चल्ने हुदाँ सत्यको खोजी र समाजलाई सूचित गर्ने साधन पत्रकारिता बन्नु पर्छ । नेपाली पत्रकारिताको गरिमा र विश्वसनीयतालाई गम्भीर क्षति पुग्नबाट जोगाउन आवश्यक देखिन्छ । यसो गर्न सकिएमा नेपाली मिडिया जगतको अस्तित्व नै संकटमा पर्ने सम्भावनाबाट जोगिन्छ ।
(लेखक बिगत २५ बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।)