मेलाका नाममा ‘डाईस’ को खाल, प्रशासन मौन

भोजपुर । हरेक वर्षको पुष र माघ महिनामा आयोजना हुँदै आएको स्थानीय भोजपुर डबली मेलामा सट्टेबाजी खेलको विकृति बढेको छ । डबली मेलाको नाममा मेला भर्नेभन्दा पनि बढि लङ्गुरबुर्जा सट्टेबाजी (डाईस) मा ठुलो मात्रामा पैसाको चलखेल हुने गरेको छ ।

भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा चलिरहेको उक्त डबली मेलामा दैनिक लाखौँको हानथाप हुने उक्त सट्टेबाजीको खेल चलिरहँदा पनि स्थानीय प्रशासनले वेवास्ता गर्दै आएको छ ।

ऐतिहासिक डबली मेलाको महत्व र पहिचानविपरीत सार्वजनिक रुपमा खेलाईने सट्टेबाजी खेललाई नियमन गर्न प्रशासन नै उदासिन देखिएको छ ।

सार्वजनिक रुपमै लाखौँ धनराशीको सट्टेबाजी भईरहेको उक्त विकृति नियन्त्रण गर्ने कुनै पनि नियमनकारी निकायहरु मौन बनेको सरोकारवालाहरु बताउँछन् । सार्वजनिक रुपमा खेलाईने सट्टेबाजी नियमनका लागि मेला आयोजकहरुकै कमजोरी रहेको उनीहरु सुनाउँछन् ।
ऐतिहासिक डबली मेलाले परिचित भोजपुरको आफ्नै साख छ । झण्डै ५ दशकपहिले सुरु भएको भोजपुर डबली मेलामा मानिसहरु दोहोरी गाउने, नाँच्ने, स्थानीय अर्गानिक उत्पादन, कृषिमेला, राडिपाखी, मादल जस्ता स्थानीय सामाग्री, विभिन्न जातीय तथा साँस्कृतिक महत्व झल्काउने पहिरन, खानाका स्टलहरु प्रदर्शन हुने गथ्र्यो ।

टाढा टाढाबाट मानिसहरु सदरमुकाम आउने गर्दथे । तर पछिल्लावर्षहरुमा भने डबली मेलाको पहिचान जोगाउनेभन्दा पनि विकृतितिर धकेलिरहेको स्थानीय सरोकारवालाहरु सुनाउँछन् ।

अहिले उक्त डबली मेलामा कहिलेकाँही देखाईने छिटफुटका केहि साँस्कृतिक कार्यक्रम, साना केटाकेटी खेल्ने खेल र रोटेपिङबाहेक मेलाका अधिकांश स्थानमा लङ्गुरबुर्जासहितका साना सट्टेबाजीका खेलहरु खेलाईएका छन् ।

ठुलो धनराशीमा रकम कुम्ल्याउने प्रलोभनले मेला भर्न आउने सोझा सर्वसाधरणहरुको सट्टेबाजी खेलबाट दैनिक १ लाख देखि १० लाखसम्मको हानथाप हुनेगरेको खुलेको छ । सट्टेबाजीमा जित्ने जोसले मेला घुम्न आएकाहरु आफ्नो ठुलो धनराशी हारेर मानसिक तनाव बोकेर घर फर्कने गरेका छन् ।

ठुलो मात्रामा पैसाको हानथाप हुने लङ्गुरबुर्जा सट्टेबाजी खेल भईरहँदा स्थानीय प्रहरी प्रशासन पनि मौन रहेको सरोकारवालाहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार