भोजपुर । पूर्वअर्थमन्त्री शंकर प्रसाद कोइरालाको टिमले भोजपुरको पूर्वी सानोदुम्मा माध्यामिक विद्यालयमा ईलर्निङ सेन्टरको शुभारम्भ गरेको छ ।
पौवादुङमा गाउँपालिका ५ , सानोदुम्मामा रहेको विद्यालयमा सोमबारबाट ईलर्निङ सेन्टर संचालनमा आएको हो । पूर्वअर्थमन्त्री कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडाैंले आवश्यक कम्प्युटर सहितका सामाग्रीहरु बिद्यालयमा लगेर जडान गरेसँगै विद्यालयमा ईलर्निङ सेन्टर शुभारम्भ भएको छ । बिगत केही बर्ष अगाडीबाट जिल्लाका विद्यालयहरुमा ईलनिङ्ग सेन्टर स्थापनाका लागि ईश्वर मन्दिर सक्रिय बन्दै आएको छ ।
कोइरालाको टिमले भोजपुरका डेढ दर्जन विद्यालयहरुमा ईलर्निङ सेन्टरका लागि कम्प्युटर, स्मार्ट टिभी लगायतका आवश्यक सामाग्रीहरु सहयोग गरि सकेको छ । आफना बालबालिकाहरुलाई निजी बोडिङ्ग स्कुलमा पढाउने क्रम बढी रहदाँ पूर्वअथमन्त्री कोइरालाको टिम भने यति खेर दुर्गम पहाडी जिल्ला भोजपुरका सामुदायिक विद्यालयहरुमा ईलनिङ्ग सेन्टर संचालनमा सहयोग गर्न व्यस्त देखिएको छ ।
सानोदुम्मा माविमा २० थान कम्प्युटर, एक थान स्मार्ट टिभी र आवश्यक सामाग्री टोलीले जडान गर्दे ईलर्निङ सेन्टर संचालनमा ल्याएको हो । किताबी ज्ञान भन्दा पनि समयानुकुल प्राबिधिक शिक्षा पनि आवश्यक रहेकाले आफनो टिमले भोजपुरका सामुदायिक बिद्यालयहरुमा ईलर्निङ सेन्टर स्थापनाका लागि आवश्यक सामाग्रीहरु सहयोग गर्दे आएको पूर्वअर्थमन्त्री कोइरालाले बताउनुभयो । कोइरालाले भन्नुभयो, “ईलर्निङ्ग सेन्टरवाट विद्यार्थी, शिक्षक कर्मचारी र सर्वसाधारणले समेत फाइदा लिनु पर्छ ।”
ईश्वर मन्दिरका महासचिव संकेत कोइरालाले आजको समयमा कम्प्युटरको ज्ञान नभई अघि वढ्न नसकिने भएकाले बिद्यालय स्तरबाट नै यो अनिवार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कपी र पेन्सिलले मात्रै प्रबिधिीको युगमा अगाडी बढन सकिदैन, अनलाइन कक्षाहरुका लागि पनि ईलर्निङ सेन्टर आवश्यक छ ।”
पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले गुणस्तरिय शिक्षा दिनका लागि प्रबिधी मैत्री बन्न आवश्यक रहेको बताउनुभयो । बिद्यालयहरुमा ईश्वर मन्दिर संस्थाले ईलर्निङ सेन्टर स्थापनाका लागि गरेको सहयोगले सामुदायिक बिद्यालयमा अध्ययरत बिद्यार्थीहरु पनि प्रबिधिी मैत्री र सक्षम हुने पालिका अध्यक्ष राईको भनाई रहेको छ । ईलर्निङ्ग सेन्टरको दिगो र अधिक्तम उपयोग गरेर गुणस्तरीय कम्प्युटर शिक्षा प्रदान गर्ने प्रतिवद्धता बिद्यालयले जनाएको छ ।
ईलर्निङ्ग सेन्टर शुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई, प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, ईश्वर मन्दिरका कोषाध्यक्ष गुणा कोइराला, भोजपुरे समाजका अध्यक्ष पासाङ शेर्पा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना, अन्य सरोकारवाला लगायतको पनि सहभागिता रहेको थियो ।