भोजपुरमा आगालागी हुँदा १३ घर जलेर नष्ट

भोजपुर । भोजपुरमा आगालागी हुँदा १३ घर जलेर नष्ट भएको छ । भोजपुर नगरपालिका झार्कीसल्ला पारपानीमा आगालागी हुदा ८ घर जलेर नष्ट भएको छ भने भोजपुरको रामप्रसादराई गाउँपालिका ४ केरावारीमा ५ घर गरी १३ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले बताए । रामप्रसादराई ४ केरावारीमा जलेको घरको विवरण भने आउन सकेको छैन ।

नजिकैको सामुदायिक बनमा लागेको आगलागीबाट स्थानीय कालीदास चापागाईको पाली, सोभित श्रेष्ठको घर र पाली, गोपीकृष्ण धमलाको पाली, गोबिन्द चापागाईको पाली, रुद्र प्रसाद ढकालको घर र पाली, गोमा दमाईको घर, राम बहादुर कार्कीको घर र पाली जलेको उनको भनाई छ । करिव साढे १२ बजेबाट ती घरहरुमा आगोले भेटको थियो । हावाहुरी अत्याधिक भएका कारण आगोलागी नियन्त्रणमा समस्या भएको उनले बताए ।

आगोलागीबाट ढुंगा माटोले बनेका घरहरुमा क्षति पुगेको हो । आगो नियन्त्रणको प्रयास भई रहेको भए पनि नियन्त्रण हुन सकिरहेको छैन । हावाहुरीका कारण बस्ती जोगाउन समस्या भई रहेको प्रहरीले जनाएको छ ।

सोमवार बिहान साढे नौ बजेको समयमा पारपानी टङटङ्गेडाँड स्थित इनामे सामुदायिक वनमा आगलागी भएको टक्सार बिमानस्थल सुरक्षा गार्ड टक्सारमा खबर प्राप्त हुना साथ तत्काल प्रहरी सहायक निरीक्षक गणेश खडकाको कमाण्डमा ७ जना प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नम्वर पाँच गुल्म हेड क्वाटर टक्सार भोजपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक उतम कुमार श्रेष्ठको कमाण्डमा १५ जनाको टोली र भोजपुर नगरपालिकाको दमकल तथा स्थानियहरुको सहयोगमा आगो निभाउने कार्य भई थालिएको थियो ।

आागोलागीको क्रम नरोकिएपछि थप मद्धतका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक हिरण कुमार सिंहको कमाण्डमा ११ जनाको टोली र नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण भोजपुरबाट सहसेनानी बाबुकाजी बस्नेतको कमाण्डमा २८ जनाको टोली खटिएको थियो ।

आगोलागी नियन्त्रणका लागि भोजपुरका प्रहरी प्रमुख डिएसपी युवराज तिमिल्सिनाको कमाण्डमा १० जना, सशस्त्र प्रहरी बल, नेपाल नम्वर ५ गुल्म हेड क्वाटर टक्सारका प्रमुख डिएसपी देबेन्द्र बहादुर थापाको कमाण्डमा १५ जनाको टोली पनि आगोलागी स्थल मै रहेको प्रहरीले जनाएको छ । आगालागीबाट भएको क्षती विवरण भने आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार