भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ वडा कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जेष्ट नागरिकहरुले समाजमा गरेको योगदानको कदर गर्दै ८० वर्ष माथीका ५० जना जेष्ठ नागरिकलाई सम्मानपत्र, न्यानो ज्याकेट र किराती संस्कार अनुसार सायाचोक्मा गरेर सम्मान गरेको टेम्केमैयुङ गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष हर्कराज राईले बताए । वडा अध्यक्ष राईका अनुसार विद्यालयको जग्गादाता, शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समाजमा रहेर योगदान पुर्याउने जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
उक्त सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जेष्ट नागरिकले समाजमा योगदान गरेको हुन्छन् ती गरेको योगदानको कदर संगै सम्मान कार्यक्रम प्रेरणदायी कार्यक्रम रहेको बताएका छन् । बस्नेतले अर्को प्रसंगमा शिक्षा क्षेत्र सुर्धान सकिएन भने समाज सुधार्न नसकिने बताउदै गाउँपालिका शिक्षा क्षेत्रको सुधारको लागि अघि बढेको बताएका छन् । उनले पालिकामा भएका विद्यालयहरुमा भएका कमीकमजोरीहरुलाई सुर्धान विभिन्न कार्यक्रम आयोजना गर्न लागेको बताएका छन् ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कोषी प्रदेश संसद तथा अर्थ समितिका सभापति माननीय विनोद वान्तावाले मानिसमा जबसम्म चेतना हुदैन तबसम्म मानिसको कटघरामा उभिन नसक्ने बताउदै शिक्षा र संस्कारको चेतना हुन आवश्यक रहेको बताएका छन् । हिजो समाजलाई सत्मार्गमा दोर्याउने यी जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै गर्वबोध भएको बताए ।
वडाले आयोजना गरेको सम्मान कार्यक्रमले आफुहरु खुसी भएको वेष्ठ नागरिकहरुले बताएका छन् ।










