गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्छ, त्यो मेरो जिम्मा भयो : शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले सही निर्णय गरे आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्ने बताएका छन् ।

कांग्रेसको वर्तमान सरकार रहिरहे आगामी दिनमा स्थानीय सरकार र केन्द्रीय सरकार पनि कांग्रेसले नै बनाउने दाबी गरे ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रवार भृकुटीमण्डपमा सम्बोधन गर्दै देउवाले भविष्यमा केपी ओलीको जस्तो तानाशाही सरकार बन्न नदिने बताएका हुन् ।

‘जुन हाम्रो सरकार बन्यो, त्यो भन्दा अगाडिको दिन सम्झनुस्, कस्तो थियो रु म प्रधानमन्त्री भएको भोलिपल्ट सारा जनताले मुक्ति पाएजस्तो भयो । सबै मान्छेले ओलीको शासनबाट मुक्ति पाए । हामीले पाएको मुक्ति बचाउने हो कि नबचाउने हो रु यो महाधिवेशनले तय गर्छ,’ देउवाले भने ।

साँझ अबेरसम्म चलेको उद्घाटन समारोहमा संक्षिप्त मन्तव्य राख्दै देउवाले भविष्यमा तानाशाही सरकार बन्न दिने कि नदिने भन्ने विषयमा महाधिवेशनले निर्णय गर्नुपर्ने बताए ।

‘फेरि तानाशाही सरकार नआओस्, भन्नका लागि यो महाधिवेशनले निर्णय गर्नुपर्छ । निर्णय गरेको खण्डमा गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बन्छ, त्यो मेरो जिम्मा भयो,’ देउवाले भने । सभापति देउवाले कांग्रेसको महाधिवेशनमा हुने प्रतिस्पर्धाको मनोमालिन्यबाट माथि उठ्न कार्यकर्तालाई आग्रह गरे ।

‘देशभरीबाट साथीहरू कतै सर्वसम्मत र कतै प्रतिस्पर्धाबाट आउनुभएको छ । मनोमालिन्यबाट माथि उठ्नु पर्नेछ । आन्तरिक निर्वाचनले स्थानीय निर्वाचनमा र राष्ट्रिय निर्वाचनमा समस्या नआओस्,’ देउवाले भने, ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसका हुनेछ । कांग्रेसको सरकार रहिरह्यो भने केन्द्र सरकार पनि कांग्रेसको हुनेछ । त्यसकारण मलाई जिताइदिनुस् । डर त्रासबाट मुक्त सरकार ल्याएर छाडिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार