वडा सदस्यले जनताको पैसा खाएर विहे गरेर हिडेपछि स्थानीय तनावमा

भोजपुर । निर्वाचनमा आफूलाई साथ दिएका जनताकै पैसा खाएर भोजपुरमा एक जना महिला जनप्रतिनिधिले दोस्रो बिहे गरेकी छन् ।
षडानन्द नगरपालिका–८, तुङ्गेछाकी वडासदस्य कमला विश्वकर्माले गाउँलेसँग ठूलो रकम ठगी गर्दै पहिलाका पतिलाई छाडेर दोस्रो विवाह गरेकी हुन् । विश्वकर्मा ठगीमा पर्ने तिनै जनताले भोट दिएर स्थानीय तह निर्वाचनमा निर्वाचित गराएकी जनप्रतिनिधि हुन् । तिनै जनतालाई झुक्याएर ठगी गरेको पैसा भने उनले मिटर ब्याजमा लगाउने गरेको पाइएको छ ।

जनप्रतिनिधिले खाएको पैसा उठाइदिन नगरपालिका र वडा कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो पीडितहरुको छ ।

सयकडा २ रूपैयाँ ब्याज दिने सर्तमा गाउँलेसँग ऋण भन्दै लिएर उनले प्रहरीकै संरक्षणमा ५ रूपैयाँभन्दा बढी ब्याजमा लगाउने गरेको पाइएको छ । दोस्रो बिहे गरेर गत भदौदेखि विश्वकर्माले गाउँ छाडेपछि स्थानीय तनावमा छन् । जनप्रतिनिधिले खाएको पैसा उठाइदिन नगरपालिका र वडा कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो पीडितहरुको छ ।
मिटर ब्याजको धन्दा चलाइरहेकी जनप्रतिनिधि ठूलो रकम उठाएर गाउँबाट भागेको स्थानीय शिक्षक टीका खड्काले बताए । उनका अनुसार आफ्नै टोलमा मात्रै ऋण भनेर प्रतिव्यक्ति १ लाखदेखि ७ लाख रूपैयाँसम्म उठाएर जनप्रतिनिधि फरार भएकी हुन् । ‘सोझा गाउँलेसँग पैसा उठाउँदै जनप्रतिनिधिले मिटर ब्याजको धन्दा चलाउने गरेको पाइयो,’ खड्काले भने, ‘पैसा खाइदिएर गाउँलेलाई उठिबास लगाउँदै दोस्रो बिहे गरेर हिँडिछन् ।’
स्थानीयका अनुसार वडासदस्य विश्वकर्माले विभिन्न सहकारी संस्था र अन्य संघसंस्थाबाट पनि लाखौँ रूपैयाँ ऋण लिएकी छन् । उनलाई झिकाउन बारम्बार आग्रह गर्दा पनि नगरपालिका र वडा कार्यालयले बेवास्ता गरिरहेको गुनासो पीडितहरुको छ ।
विश्वकर्माका पहिलेका पतितर्फ ३ छोरा, १ छोरी र नातिनातिनी छन् । उनले षडानन्द नगरपालिका–५ चिउरीबोटेका टीकराम विश्वकर्मासँग गत भदौमा दोस्रो बिहे गरेकी हुन् । विश्वकर्मालाई कारबाहीको माग गर्दै स्थानीय प्रहरी कार्यालयमा पनि पुगे । उनलाई झिकाएर दोस्रो बिहे गरेको विषयमा छलफल चलाएको प्रहरीले पीडामा परेका गाउँलेको समस्यामा भने सुनुवाइ नै नगरेको शिक्षक खड्काको भनाइ छ ।
‘यति धेरै रकम ठगी गरेर फरार भएकी जनप्रतिनिधिलाई प्रहरीले नै संरक्षण गरिदिँदा हामी मारमा प¥यौँ,’ एक पीडितले भने, ‘ठगीको विषयलाई प्रहरीले लेनदेन भन्दै टारिदिएर रकम खाइदिनेलाई छाडिदियो ।’ उनका अनुसार गाउँलेसँग पैसा उठाएर मिटर ब्याजमा लगानी गरेकी विश्वकर्माले साँवा पनि फिर्ता गर्न आनाकानी गरिरहेकी छन् ।
स्रोतका अनुसार मिटर ब्याजको धन्दा चलाउने उनीसँग प्रहरीको समेत मिलेमतो छ । ‘ठगी गरेको घटनालाई लेनदेन भन्दै प्रहरीले कारबाही अघि बढाउन मानेन । प्रहरीले ठगी गर्नेकै समर्थन ग¥यो,’ पीडितहरु भन्छन्, ‘भित्रभित्रै प्रहरीलाई मिलाएपछि हाम्रो केही लागेन । खाइ–नखाइ दुःख गरेर कमाएको पैसा उठाएर जनप्रतिनिधि भागेपछि बिचल्ली भयो ।’
इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक काशीराज थापाले पीडितले उजुरी दिएपछि वडासदस्य विश्वकर्मा र गाउँलेलाई आपसी समझदारीमा विवाद सुल्झाउनु भनेर पठाइएको बताए । उनका अनुसार गत असोजमा पहिलाका पति पदमबहादुर विश्वकर्माले पत्नी हराएको भनेर उजुरी दिएका थिए । प्रहरी कार्यालयमा छलफल गराउँदा जनप्रतिनिधि विश्वकर्माले दोस्रो बिहे गरेको स्वीकारेको थापाको भनाइ छ ।
‘गाउँलेको खाइदिएको पैसा फिर्ता गर्ने विषयको कागज गराउन प्रहरी कार्यालयमा मिलेन,’ उनले भने, ‘त्यही भएकाले समझदारीमा कुरा मिलाउनु भनेर दुवै पक्षलाई पठायौँ ।’ तर प्रहरी कार्यालयमा पैसा फिर्ता गरिदिन्छु भनेर हिँडेकी विश्वकर्माले उल्टै गाउँलेलाई धाकधम्की दिने गरेको गुनासो स्थानीयको छ ।
शिक्षक खड्काका अनुसार विभिन्न बहाना बनाउँदै जनप्रतिनिधि गाउँलेसँग सम्पर्कमा आउन मानिरहेकी छैनन् । ’गाउँभरि उठाएको पैसा विदेश जानेहरुलाई चर्को ब्याजमा दिने गरेको पाइयो,’ उनी भन्छन्, ‘जनप्रतिनिधि भएकाले विश्वासमा परेर पैसा दिएका गाउँलेहरु अहिले ठूलो पीडामा छन् ।’ खड्काले वडासदस्य सम्पर्कविहीन बनेपछि गाउँलेले वडा कार्यालयमा समेत निवेदन दिएको बताए ।
स्थानीय राजेन्द्र खड्का आपसी समझदारीमा पैसा फिर्ताको कागज गर्नुपर्छ भन्दा इन्कार गरेर हिँडेकी वडा सदस्यले गाउँलेलाई डुबाएको बताउँछन् । ‘एक जना जनप्रतिनिधिले झुक्याएर सिंगो गाउँ डुबाएकी छन् । दोस्रो बिहे गर्दै उनी थातथलो छाडेर हिँडिसकिन्,’ उनले भने, ‘तर असुलउपरका लागि निवेदन दिइएका निकायले वास्तै गर्दैनन् । विश्वकर्मा कहाँ छिन् भन्ने बारेमा गाउँलेहरु अनभिज्ञ छन् ।’
वडाध्यक्ष किशोर किराँतले गाउँलेका पैसा खाएर वडा सदस्यले दोस्रो बिहे गरेको बताए । फोन सम्पर्क गर्दा आफू उपचार गराइरहेको छु र पछि आएर सबै फिर्ता गर्छु मात्रै भन्ने गरेको उनले बताए । ‘वडामा पनि निवेदन परेको छ । हामीले सम्पर्क ग¥यौँ,’ किराँतले भने, ‘तर उनी खुट्टा मर्किएर उपचार गराउँदैछिन् भन्ने सुनेको छु । पछि पैसा फिर्ता गरिदिन्छु भन्छिन् ।’
किराँतका अनुसार जनप्रतिनिधि भएर गाउँलेसँग ठगेको पैसा उठाउन वडा कार्यालयले पनि पहल गरिरहेको छ । दोस्रो बिहे गरेपछि उनले पहिलाको पतिसँग सम्बन्ध विच्छेदका लागि भनेर वडामा निवेदन समेत दिएको किराँतको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार