मंसिर ४ निर्वाचन : यादवबाहेक प्रदेशका मन्त्रीहरु ढुक्क

विराटनगर । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रदेश १ का मुख्यमन्त्रीसहित ९ मन्त्रीहरु उम्मेदवार बनेका छन् । प्रदेश सरकारका खानेपानी तथा सिंचाईमन्त्री रामकुमार राई प्रतिनिधिसभाको उम्मेदवार बन्दा मुख्यमन्त्री राजेन्द्रकुमार राईसहितका ८ जना मन्त्रीहरु प्रदेशसभाको उम्मेदवार छन् ।

अघिल्लो निर्वाचनमा पनि प्रत्यक्षबाटै निर्वाचित भएका मन्त्रीहरु दोस्रो कार्यकालको लागि उम्मेदवार बन्दा गत वैशाखमा भएको स्थानीय तहको मतलाई हेर्ने हो भने स्वास्थ्यमन्त्री जयराम यादवबाहेक सबै सुरक्षित देखिएका छन् ।

जनता समाजवादी पार्टीबाट स्वास्थ्यमन्त्री रहेका यादव नेकपा एमालेको समर्थनमा मोरङ क्षेत्र नं. ५ (२) बाट उम्मेदवार बनेका छन् । गत स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा यादव ‘रेड जोन’ मा देखिएका छन् भने सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका सबै मन्त्रीहरु ‘सेफ जोन’मा देखिन्छन् ।

तर, वडाध्यक्षले पाएको मतको प्याटर्न संसदको निर्वाचनमा मिल्छ भन्ने हुँदैन । त्यसमाथि वडाध्यक्षले स्थानीय प्रभाबको आधारमा व्यक्तिगत मत प्राप्त गरेको हुन्छ । यद्यपी सत्तारुढ गठबन्धनले भने स्थानीय तहको गठबन्धनमा उम्मेदवार नभएको चिन्हमा मत खस्दा आफूहरुको धेरै मत बदर भएकोमा यस पटक त्यो समस्या नहुने भएकोले अझै मत बढ्ने दावी गर्दै आएको छ ।

स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले उम्मेदवार नभएको पदमा पनि दलहरुको चिन्ह भएको मतपत्र छापेको थियो । जसले गर्दा दलहरुबीच गठबन्धन भएपनि प्यानलमै धेरै मत खसेको थियो । मतपत्रमा ७ स्थानमा मतदान गर्नुपर्ने भएकोले स्थानीय तहमा धेरै मत बदर भएको थियो । यसपटक उम्मेदवार भएकाहरुको मात्र चुनाबचिन्ह मतपत्रमा छापिएकोले बदर मत कम हुनेछ ।

गठबन्धनमा सहजै मत ट्रान्सफर भएको अवस्थामा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतकै आधारमा गठबन्धनका सबै उम्मेदवार विजयी हुने देखिन्छ । प्रदेश सरकारका बहालवाला मन्त्रीहरु सबैले अर्को कार्यकालको लागि निर्वाचित हुने अवसर पाउनेछन् ।

संकटमा स्वास्थ्यमन्त्री यादव
२०७४ को निर्वाचनमा बाम गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका स्वास्थ्यमन्त्री यादवलाई यसपटक एमालेको साथ पाउँदा पनि संकट देखिएको छ । विराटनगर महानगरपालिकाको ६ वटा र जहदा गाउँपालिकाको ५ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा यादवलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका प्रभावशाली नेता अमृत अर्यालले कडा टक्कर दिएका छन् ।

सो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले १५१३७ मत प्राप्त गर्दा जसपा र एमालेले ५८५ कम अर्थात १४५५२ मत प्राप्त गरेका थिए । निर्वाचनमा काँग्रेसका वडाध्यक्षका उम्मेदवारले ९१६६, एमालेले ६२०२, माओवादी केन्द्रले ५३६३, एकीकृत समाजवादीले ६०८ र जनता समाजवादी पार्टीले ८३५० मत प्राप्त गरेको थियो ।

मन्त्री भएर पनि क्षेत्रको विकासमा ध्यान नदिएको, कर्मचारी सरुवामा कमिसनको खेल गरेको लगायतका विवादमा यादव मुछिएका छन् । अर्कोतिर एमाले विरोधी गठबन्धनमा सामेल भएर मन्त्री भएपनि पद नछाडी उम्मेदवार बनेकोले एमाले कार्यकर्ताको सबै मत उनले पाउने अवस्था नदेखिँदा यादव ‘रेड जोनमा’ देखिएका छन् ।

मुख्यमन्त्रीलाई काँग्रेस र माओवादीको भर
प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार भोजपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिब राईको प्रतिस्पर्धामा उनकै पूर्व कार्यकर्ता हरिबहादुर राई नेकपा एमालेबाट चुनाबी मैदानमा छन् ।

साल्पासिलिछो गाउँपालिका, षडानन्दा नगरपालिका, अरुण गाउँपालिका, पौवादुम्मा गाउँपालिकाको वडा नं. १ र २ तथा ट्याम्केमैयुम गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा समेटिएको सो निर्वाचन क्षेत्रमा स्थानीय तहको मतको आधारमा मुख्यमन्त्री राईको पार्टीको मत १६६१ मात्र छ । तर, सत्तारुढ गठबन्धनको मतको आधारमा भने उनी ८५२१ मतले अगाडि छन् ।

सो क्षेत्रको वडाध्यक्षहरुको मतका आधारमा नेकपा एमालेको १३५०९, काँग्रेसको १४२६७, माओवादी केन्द्रको ६१०२ मत छ । जसअनुसार गठबन्धनको मत २२०३० रहेको छ । बहालवाला मुख्यमन्त्री रहेको र जिल्लामा आफैंले राजनीतिमा लगाएका कार्यकर्ताको ठूलो पंक्ति एमालेमा रहेकोले उनीहरुको पनि साथ पाउँदा मतान्तर अझै बढ्ने राईको दावी छ । एमालेले भने गठबन्धनभित्रको असन्तुष्टि रहेकोले धेरै मत पाएर जित निकाल्ने दावी गरिरहेको छ ।

ढुक्क छन्, अर्थमन्त्री आङ्बो
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पाँचथर २ बाट प्रदेशसभामा उम्मेदवार बनेका छन् । प्रदेश सरकारमा सबैभन्दा धेरै समय मन्त्रीमण्डलमा रहेर प्रभाबकारी कार्यकुशलता देखाएका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य आङ्बो जिल्लाको विकासमा उल्लेखनीय काम गरेकोले लोकप्रिय छन् ।

माओवादी केन्द्रबाट भावी मुख्यमन्त्रीको दाबेदार रहेका उनको पहलमा गत स्थानीय तहको निर्वाचनमा पाँचथरमा गरिएको गठबन्धन ८० प्रतिशतभन्दा धेरै स्थानमा सफल भएको थियो । विकासप्रेमी नेताको पहिचान बनेकोले उनले गठबन्धनले स्थानीय तहमा प्राप्त गरेकोभन्दा धेरै मत प्राप्त गर्ने अनुमान गरिएको छ ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका, कुम्मायक गाउँपालिका, तुम्बेवा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकासहित फिदिम नगरपालिकाको ५, ६ र ९ नम्बर वडा समेटिएको सो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारले एमालेका वडाध्यक्षका उम्मेदवारभन्दा ४२९३ बढि मत पाएका थिए । क्षेत्रमा एमालेका उम्मेदवारले १४०२६ मत प्राप्त गर्दा काँग्रेसको १०८८८, माओवादी केन्द्रको ६५६८ र एकीकृत समाजवादीको ८६२ सहित गठबन्धनको मत १८३१९ रहेको छ । सो क्षेत्रमा एमालेले आइन्द्रसुन्दर नेम्बाङलाई उम्मेदवार बनाएको छ ।

कार्कीको क्षेत्रमा दोब्बर मतान्तर
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्की उदयपुरको क्षेत्र नं. १ (२) बाट प्रदेशसभामा उम्मेदवार बनेका छन् । काँग्रेस उदयपुरका सभापति रहेका उनले २०७४ को निर्वाचनमा बाम गठबन्धनलाई पराजित गरेर विजयी भएका थिए ।

उदयपुरको त्रियुवा नगरपालिका नै उनको निर्वाचन क्षेत्र हो । नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धामा पनि काँग्रेस नै विजयी भएको थियो । क्षेत्रभरिका वडाध्यक्षको मत एमालेको ११२७१ रहेको छ भने गठबन्धनको मत ११५३५ बढि अर्थात २२८०८ रहेको छ । क्षेत्रमा काँग्रेसको १३६४३, माओवादीको ६२९६ र एकीकृत समाजवादीको २८६९ मत छ ।

स्थानीय तहको मतको आधारमा कार्की बलियो देखिएको भएपनि उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार ईश्वरमणि राउतको प्रभाव सो क्षेत्रमा बलियो रहेकोले निर्वाचनमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । त्यसमाथि काँग्रेसभित्रको गुटबन्दी र वागी उम्मेदवारीको कारण पनि कार्कीलाई केहि असहज भएपनि ठूलो मतान्तर रहेकोले उनी पुनः निर्वाचित हुने देखिन्छ ।

संघको प्रतिष्पर्धामा ढुक्क खानेपानीमन्त्री
प्रदेश सरकारको खानेपानी तथा सिचाईंमन्त्री रामकुमार राई खोटाङबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । २०६४ सालको निर्वाचनमा संविधानसभामा निर्वाचित भएका उनी २०७४ मा प्रदेशसभामा निर्वाचित भएका थिए । यसपटक उनले नेकपा एमालेका प्रमुख सचेतक रहिसकेका विशाल भट्टराईलाई टक्कर दिँदैछन् ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा खोटाङमा सत्तारुढ गठबन्धन धेरै बलियो छ । जिल्लामा एमालेको मत २८७२९ रहेको छ भने गठबन्धनको मत त्योभन्दा १८७१६ बढि अर्थात ४७५१३ रहेको छ । जिल्लामा काँग्रेसको मत २६६३३, माओवादी केन्द्रको १८७३६ र एकीकृत समाजवादीको २१४४ मत रहेको छ ।

बलियो गठबन्धनको साथ रहेको र यसअघि निर्वाचित भएका एमाले सांसद भट्टराईले जिल्लाको विकासमा कुनै काम नगरेकोले आफ्नो आधार बलियो भएको राई बताउँछन् । प्रदेश सांसद र मन्त्रीको रुपमा जिल्लाको विकासमा योगदान गरेको र अब जिल्लाका ठूला पूर्वाधारको काम अगाडि बढाउन संघीय सांसद भएर काम गर्ने योजनासहित चुनाबी अभियानमा रहेको उनले बताए ।

विराटनगरमा कार्कीलाई पर्शुरामको टक्कर
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मोरङको निर्वाचन क्षेत्र नम्बर ६(२) मा उमेदवार बनेका छन् । विराटनगर महानगरपालिकाको ५, ६, ७, ९, ११ र १२ नम्बर वडा समेटिएको सो क्षेत्रमा स्थानीय तहको मतपरिणाम हेर्दा गठबन्धनको मत एमालेको भन्दा करिब दोब्बर बढि छ ।

क्षेत्रमा एमालेको मत ६३४२ रहेको छ भने गठबन्धनको मत १२७७४ रहेको छ । सो क्षेत्रमा काँग्रेसको मत ९६१५, माओवादीको १९१४, एकीकृत समाजवादीको १२४५ र जसपाको २००९ मत रहेको छ । एमाले र जसपाको गठबन्धन बन्दा एमालेले सो क्षेत्र जसपालाई छाडेको भएपनि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेबेला जसपालाई धोका दिएर एमालेको तर्फबाट बस्नेतले उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्रमा जसपाबाट राजेन्द्र गुप्ता उम्मेदवार छन् ।

स्थानीय तहको मतको आधारमा कार्की बलियो देखिएपनि काँग्रेसभित्रको समस्याको दबाब उनीमाथि छ । काँग्रेसको गुटबन्दीको कारण कतिपय काँग्रेसकै कार्यकर्ताले कार्कीलाई सहयोग गरिरहेका छैनन् भने सो क्षेत्रबाट काँग्रेसकै प्रदेश समिति सदस्य गोपाल रेग्मी स्वतन्त्र उम्मेदवार बनेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहिसकेका उनीसँगै काँग्रेसकै कार्यकर्ता जनार्दन निरौला सोही क्षेत्रमा काँग्रेस बीपीबाट उम्मेदवार बनेका छन् । दुईको उम्मेदवारले बस्नेतलाई उत्साहि बनाएको छ । तर, मतान्तर ठूलो रहेको र आफू हरेक मतदातासँग परिचित रहेकोले ढुक्कले चुनाब जित्ने कार्कीको दावी छ ।

महिलासँगकै प्रतिष्पर्धामा मन्त्री लङ्वा
प्रदेश १ की पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा इलामको क्षेत्र नम्बर १ (१) बाट उम्मेदवार बनेकी छन् । एकीकृत समाजवादीकी नेतृ उनीसँग एमालेले शोभा पराजुलीलाई मैदानमा उतारेको छ ।

इलाम नगरपालिकाको वडा नं. १०, सन्दकपुर गाउँपालिका, माई जोगमाई गाउँपालिका तथा सुर्योदय नगरपालिकाको १,२,३,९,१० र ११ नम्बर वडा समेटिएको सो क्षेत्रमा स्थानीय तहमा वडाध्यक्षले पाएको मत हेर्दा सत्तागठबन्धन १९१२५ मतसहित एमालेभन्दा ३६०० मतले अगाडि छ । क्षेत्रमा एमालेको १५५२५, काँग्रेसको १२८६९, माओवादी केन्द्रको १००८ र एकीकृत समाजवादीको ५२४८ मत छ ।

बलियो प्रस्पिर्धामा कृषिमन्त्री मगर
प्रदेश सरकारका कृषिमन्त्री झलकबहादुर मगर झापाको ४ (१) बाट प्रदेशसभामा उम्मेदवार बनेका छन् । गौरिगञ्ज गाउँपालिकाको १ र २, गौरादह नगरपालिकाको ९ तथा शिवसताक्षी नगरपालिकाको १,२,३,४,५,६,८ र ११ नम्बर वडा समेटिएको सो क्षेत्रमा गठबन्धन २१९४ मतले अगाडि छ ।

सो क्षेत्रमा एमालेले १४११६, काँग्रेसले ११८६२, माओवादी केन्द्रले २७६६ र एकीकृत समाजवादीले ६८२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा एमालेले पूर्वशिक्षक राधाकृष्ण खनाललाई उम्मेदवार बनाएको छ । खनालले एमालेको आधार क्षेत्र रहेकोले आफू चुनाब जित्ने दावी गरेका छन् ।

एमालेको बलियो प्रभाव रहेको क्षेत्र भएपनि प्रदेश सांसद र मन्त्री भइसकेपछि क्षेत्रको विकासमा गरेको योगदानको कारण चुनाब सहजै जित्ने दावी मगरको छ । स्थानीय तहको निर्वाचनको परिणाम अनुसार पनि गठबन्धन बलियो रहेको र त्योभन्दा धेरै मत आगामी निर्वाचनमा गठबन्धनलाई आउने उनले दावी गरे ।

पूर्वगाविस अध्यक्ष र पूर्व जिविस सभापतिको टक्कर
उत्तरी मोरङमा पर्ने क्षेत्र नं। १९२० बाट उम्मेदवार बनेका प्रदेश सरकारका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे नेकपा एमालेका पुराना नेता खड्गबहादुर बस्नेतसँग प्रतिस्पर्धा गर्दैछन् । मोरङको लेटाङ नगरपालिका, केराबारी गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाको १, ४ र ५ नम्बर वडा समेटिएको सो क्षेत्रमा पनि एमालेभन्दा गठबन्धन ३०१४ मतले अगाडि छ ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा सो क्षेत्रमा एमालेले १७९६०, काँग्रेसले १७४४०, माओवादी केन्द्रले ३४८० र एकीकृत समाजवादीले ४६ मत प्राप्त गरेको छ । स्थानीय तहकै गठबन्धनको मत २०९७४ रहेको र आगामी निर्वाचनमा त्योभन्दा धेरै मत आफूले प्राप्त गर्ने भएकोले चुनाबमा प्रतिष्पर्धा नै नरहेको घिमिरे दावी गर्छन् ।

तत्कालिन जाँते गाविसमा दुई कार्यकाल अध्यक्ष भएका घिमिरेसँग प्रतिष्पर्धामा उत्रिएका बस्नेत जिल्ला विकास समितिका पूर्वसभापति हुन् । सो क्षेत्रमा डिल्लिराम अधिकारीले उम्मेदवार नबनाएको भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए । एमालेभित्रको असन्तुष्टिले घिमिरेलाई थप बलियो बनाएको देखिएको छ ।

सभामुखले टिकट पाएनन्, उपसभामुख भिड्दै
प्रदेश १ को प्रदेशसभाका सभामुख रहेका प्रदिपकुमार भण्डारीले उम्मेदवार बन्ने आकांक्षा राखेपनि टिकट पाएनन् भने उपसभामुख रहेकी सरस्वती पोखरेल सुनसरीको क्षेत्र नं. ३(१) बाट उम्मेदवार बनेकी छन् । २०७४ मा समानुपातिक सांसद चुनिएकी उनी यसपटक सत्तारुढ गठबन्धनको सहयोगमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी हुन् ।

इटहरी उपमहादुरपालिकाको ६,७,८,९,१०,११,१२,१३,१४ र १५, गढी गाउँपालिकाको १, दुहबी नगरपालिकाको २,३,४,८ र ९ तथा इनरुवा नगरपालिकाको ७ नम्बर वडा समेटिएको सो क्षेत्रमा पोखरेलको प्रतिस्पर्धामा नेकपा एमालेका रोहितबहादुर कार्की चुनाबी मैदानमा छन् । सो क्षेत्रमा सत्तारुढ गठबन्धन एमालेभन्दा २५०५ मतले अगाडि छ ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा क्षेत्रमा गठबन्धनको मत १९९७१ रहेको छ भने एमालेको मत १७४४६ रहेको छ ।

यी मन्त्री, जो उम्मेदवार बनेनन्
प्रदेश सरकारमा सामाजिक विकासमन्त्री रहेका खोटाङका राजन राई, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रहेका झापाका ओमप्रकाश सरागावी र उद्योग श्रम तथा रोजगारमन्त्री रहेका ताप्लेजुङका प्रतापप्रकाश हाङ्गाम भने उम्मेदवार बनेका छैनन् । यस्तै सामाजिक विकास राज्यमन्त्री रहेकी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमायाँ तुम्बाहाम्फे पनि उम्मेदवार बनेकी छैनन् ।

प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्री रहेका शेखरचन्द्र थापा मोरङको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट उम्मेदवार बनेका थिए । उम्मेदवारी दर्ता गरेको भोलिपल्टदेखि विरामी हरेका उनको उपचारको क्रममा कात्तिक २३ गते निधन भएपछि सो क्षेत्रमा काँग्रेसले मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार