धेरै विश्लेषण गरेर मात्र सरकारलाई विश्वासको मत दिनेबारेमा निर्णय गर्छौं : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् । सरकार कुन ढंगले अगाडि बढ्छ त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाइ थियो ।

शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रूपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणासमेत राखे ।

‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन । व्यक्तिगत भावना राख्नेहरूको बेग्लै कुरा भयो । मप्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो । सद्भाव राख्नेहरु सबैलाई धन्यवाद छ । भावना राम्रो हुनु आफ्नो ठाउँमा छ । तर त्यो भावना निजात्मक भइदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ । त्यसकारण तपाईंहरूले भनेजस्तो कुनै ठोस कुरा भएका छैनन् । जुन गाउँ जानु छैन । जब कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा त अगाडि बढिन्छ नै । अब यसमा जो जो इच्छुक हुनुहुन्छ, उहाँहरुसँग हामी हातेमालो गर्छौं । अब विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं । व्यक्तिगत रूपमा प्रचण्डजीप्रति मेरो पोजिटिभ नै धारणा छ । जहाँसम्म सरकार कुन ढंगले अगाडि बढ्छ, त्यो हेरिकन हामी टुंगो गर्छौं । सरकारलाई विश्वासको मत दिन हामीले त धेरै विश्लेषण गर्नुपर्छ । विश्लेषण गरेर बल्ल टुंगोमा पुग्नुपर्छ,’ उनले भने ।

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पारे । इच्छुक पार्टीहरुसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत उनले बताए । अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताका लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताए । अन्य साना वामपन्थी दलहरुसँग पनि एकता र सहकार्यका लागि अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले पार्टीलाई सुदृढ र विस्तार गर्दै जनताकोु इस्युुलाई उठान गरेर अघि बढ्ने काममा आफ्नो पार्टीको ध्यान जाने कुरा दोहोर्‍याए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार