एआईजी श्याम ज्ञवालीले यसरी गरे अनुसन्धानका गोप्य सूचनाको दुरुपयोग

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका प्रहरी कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेताहरुमाथि गलत सूचनाहरु फैलाएर बदनाम गर्ने गरेको देखिएको छ। उक्त कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा ठाडो हस्तक्षेप गर्दै नेपाली कांग्रेसका नेताहरुलाई बिना आधार र प्रमाण भ्रामक र गलत सुचना मिडियामा दिएर बदनाम गराउने गरेको भेटिएको छ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलादेखि डा. आरजु राणा देउवासम्मलाई चरित्र हत्या गर्नेगरी भ्रामक समाचार ज्ञवालीले नै फैलाउने गरेका हुन्। ‘काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको काम नै दिनभर नेपाली कांग्रेसका नेताहरुलाई कसरी बदनाम गराउन सकिन्छ भनेर योजना बुन्ने छ’, आयुक्त कार्यालमा कार्यरत एक जना वरिष्ठ प्रहरी अधिकृतले भने। गत बैशाख १६ गते डा. आरजु राणा देउवालाई आरोप लगाउँदै एउटा अडियो सार्वजनिक भएको थियो। उक्त अडियो ज्ञवालीले नै नेकपा एमालेका नेता महेश बस्नेत मार्फत सार्वजनिक गरेको खुलेको छ। जबकी वैशाख ४ गते नै नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका सन्देश शर्माको बयान लिई सकेको थियो भने बयानमा उक्त अडियोमा बोलिएका विषयहरु सत्य नभएको शर्माले स्पष्ट उल्लेख गरिसकेका थिए।

शर्माले बयानमा भनेका छन्, ‘म आरजु देउवा, मञ्जु खाँड कसैलाई पनि चिन्दिन र कसैलाई पैसा दिएको पनि छैन तर गजेन्द्र बुढाथोकी भन्ने व्यक्तिले आरजु देउवालाई समेत पैसा दिएका छौं, काम हुन्छ भनेर फोनमा भने मात्रै आफुहरु जोगिने अन्यथा आफुहरु बच्न नसक्ने भनेपछि उहाँहरुको नाम लिएको हो, रकम दिने तके कुरा मैले चिनेको पनि छैन।’

जसले अडियो रेकर्ड गरेर प्रहरीमा दिएको थियो उसैले गलत हो भन्दाभन्दै ज्ञवालीले उक्त अडियो बयान सकिएको १० दिनपछि मिडिया मार्फत सार्वजनिक गरेका हुन्। यसले ज्ञवालीले नेपाली कांग्रेसका नेताहरुको बदनाम गराउने उदेश्यका साथ अनुसन्धानमा भेटिएका प्रमाणहरुको गलत प्रयोग गरेको देखिएको छ। प्रहरीले यस्ता गोप्य सूचनाको आफु अनुकुल गलत प्रयोग गर्नु भनेको कारबाही योग्य कसुर मानिन्छ। श्यामलाल ज्ञवाली तिनै प्रहरी अधिकृत हुन जसले उमेर बढि भएपछि पनि प्रहरी भर्ना भएको आधारमा जागिरबाट बर्खास्त र कारबाही हुन्छ। तर ज्ञवालीले आफुलाई हुन लागेको कारबाही प्रहरी अनुसन्धानका तिनै गोप्य सुचनाहरु एमाले नेताहरुलाई दिएर अख्तियारबाट उम्किन सफल भएका छन्।

ज्ञवालीको नागरिकतामा उमेर बढि देखिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उक्त उजुरीको प्रारम्भीक अनुसन्धानबाट श्यामलाल ज्ञवालीको उमेर ९ दिन बढि देखिएको पुष्टि भएको उल्लेख गर्दै गृह मन्त्रालयलाई अख्तियारले पत्र लेखेको थियो । अख्तियारले गृहलाई २०७९ चैत ६ गते लेखेको पत्रमा भनिएको छ, ‘निज श्यामलाल ज्ञवालीको उमेर निजको नेपाली नागरिकताको प्रमाणपत्र बमोजिम उक्त छनौट हुने साल विंसं २०५० को बैशाख १ गते २५ बर्ष ९ दिन हुन आउने देखिन्छ।’

तर जब ज्ञवाली काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख भए पछि वैशाख ४ गते नक्कली भूटानी शरणार्थी काण्डको अनुसन्धान गर्नेक्रममा एमाले नेताहरुका नाम जोडिएपछि आफ्नो अख्तियारको उजुरी तामेलीमा राख्नेगरी पक्राउ परेकाहरुको बयनको दुरुपयोग ज्ञवालीले गरेको देखिन्छ। वैशाख ४ गते आरोपीतहरुको बयान लिएको र उक्त बयानमा एमाले नेता केपी ओलीका स्वकिय सचिव राजेश बज्रचार्य, एमाले नेता अजयक्रान्ति शाक्य लगायतको नाम पोलिएको थियो । तर उनीहरुलाई प्रहरीले सामान्य सोधपुछ समेत गरेन।

यही सूचनाको दुरुपयोग गर्दै ज्ञवालीले एमालेसँग लेनदेन गरेपछि बैशाख १५ गते अख्तियारले ज्ञवालीको मुद्दा तामेलिमा राख्ने निर्णय गरेको छ। सोही बीचमा बैशाख १६ गते डा.आरजु राणालगायका कांग्रेस नेताहरुको अडियो ज्ञवालीले मिडिया मार्फत सार्वजनिक गरेको देखिएको छ। यसले प्रहरीको अनुसन्धानका महत्वपूर्ण सूचनाहरु ज्ञवालीले आफ्नो अनुकुलतामा दुरुपयोग गरेको पुष्टि भएको छ।

कुनै पनि विषयको अनुसन्धान नेपाल प्रहरीले निष्पक्ष, स्वतन्त्र र पूर्वाग्रह नराखी गर्नुपर्छ। अनुसन्धानमा कुनै खालको पूर्वाग्रह राखियो भने त्यसले सत्यलाई लुकाएर अनुसन्धान वास्तविकतामा पुग्न सक्दैन। यदी कोही प्रहरी अधिकृतले व्यक्तिगत स्वार्थमा अनुसन्धनलाई प्रयोग गर्नु भनेको त्यो अर्को अपराध हुन्छ। त्यसैले पनि नक्कली भूटानी शरणार्थी जस्तो गम्भीर विषयको अनुसन्धानमा एउटा जिम्मेवार प्रहरी अधिकृत त्यसमा पनि काठमाडौं उपत्यका प्रहरी कार्यालय जस्तो संवेदनशिल कार्यालयको प्रमुख लाग्नु भनेको प्रहरी आचरण र राज्यको संविधान र कानुन विपरितको हर्कत हो।

डा. आरजु राणा देउवाले आफ्नो बारेमा आएको अडियोको वास्तविकता के हो? कस्ले, के उद्देश्यका लागि यो अडियो रेकर्ड गराएको हो भन्ने यसबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गरीपाउ भनी प्रहरीमा उजुरी दिएको दुई महिना नाघि सक्यो । तर, प्रहरीले त्यसको जवाफ अहिलेसम्म दिएको छैन । त्यो गलत अडियो नै ज्ञवालीले विभिन्न मिडियामार्फत् बदनाम गराउने हतियार बनाएर राखेको छ।

जवकी प्रहरीले पक्राउ परेका थुनुवाहरूले लिखित बयानमा पोलेका केही व्यक्तिहरुलाई सामान्य सोधपुछ समेत गरेको छैन । थुनामा रहेका सानु भण्डारी र केशव दुलालले नेकपा एमालेका अध्यक्ष केपी ओलीका स्वकिय सचिव राजेश बज्राचार्य, एमाले नेता अजयक्रान्ति शाक्यलगायतका नाम बयानमै बोलेका छन् । तर प्रहरीले उनीहरुसँग सामान्य सोधपुछ समेत गरेको छैन्। आरोप लागेकालाई सोधपुछ पनि नगर्ने प्रहरीले कहीँ कतै कुनै प्रमाण नभेटिएका र कुनै संलग्नता नै नरहेका कांग्रेस नेताहरुलाई मिडियामार्फत् बदनाम गराउनुले नेपाल प्रहरीको नियतमाथि गम्भीर प्रश्न उव्जिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार