मनाङ एयरको हेलिकोप्टर दुर्घटना : ६ जनाकै शव भेटियो (नामसहित)

सोलुखुम्बु । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ । प्रहरीले दुर्घटनास्थलबाट ६ जनाकै शव संकलन गरिसकेको छ ।

हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकोप्टरमा चढेका थिए । हेलिकोप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए । जिल्ला प्रहरी प्रमुख (डीएसपी) दीपक श्रेष्ठका अनुसार उद्धारका लागि प्रहरी परिचालन गरिएको थियो ।

सुर्केबाट उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना अवस्थामा भेटिएको हो ।

भकान्जेको काँडेनजिकै ठूलो विस्फोटको आवाज आएपछि घटनास्थलमा हेर्दा हेलिकप्टर दुर्घटना भएको देखिएको भकान्जेका ङवाङ शेर्पाले जानकारी दिए । ‘हेलिकोप्टरमा ६ जना चढेका रहेका छन्, उनीहरुको शरीर पनि क्षतविक्षत् अवस्थामा देखिन्छ,’ उनले भने ।

लुक्ला विमानस्थलका एटीसी अफिसर सागर कँडेलका अनुसार हेलिकोप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार