कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर

काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापाको नियुक्ति बदर गर्दै थापाको नियुक्ति बदर गर्न आदेश जारी गरेको हो।

थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेका थिए। सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले असार २१ गते थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।

उक्त नियुक्ति संविधानसम्मत नभएको भन्दै निवर्तमान मुख्यमन्त्रीसमेत रहेका नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री थापालाई पदमुक्त गर्ने आदेश दिएको हो।

थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न उनको माग थियो।

सर्वोच्चले कोशी प्रदेशमा अब दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन ७ दिनको समय दिएको छ। यसरी सरकार बन्न नसके संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सरकार बनाउन सर्वोच्चले भनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार