संस्कृति जोगाउन ऐतिहासिक टक्सार बजारमा धार्मिक मेला आयोजना

दिवस श्रेष्ठ

भोजपुर । भोजपुरको ऐतिहासिक टक्सार बजारमा नेवार समुदायको पहिचान बोक्ने सांस्कृतिक पर्व लाखेजात्राको धार्मिक तथा सांस्कृतिक संरक्षणको लागि धार्मिक मेला आयोजना गरिएको छ ।

टक्सार बजार धार्मिक तथा सांस्कृतिक हिसाबले ऐतिहासिक बजार हो ।  मिनी पाटन समेत भनिने १८७२ गीर्वाणयुद्ध बिक्रम शाहको पालामा स्थापित टक्सार बजार धातु व्यवसायका लागि पनि त्यतिकै प्रख्यात ठाउँ मानिन्छ । यहाँ कृष्ण मन्दिर, बिहार, चैत्य, गुम्बा लगायतका दर्जनौँ धार्मिक स्थलहरू रहेकाले स्थानीयहरुले धार्मिक मेला आयोजना गरी संस्कृती संरक्षण गर्न लागि गरेको स्थानीय प्रेम शाक्यले बताए ।

ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण र संवद्र्धन सहित परम्पराहरू समेत जोगाउन जरुरी रहेको वडाध्यक्ष देवी प्रसाद कार्कीले बताए । विभिन्न संस्कार, संस्कृति हाम्रो अमूल्य सम्पत्ति भएको बताउदै यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको हुनाले यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए ।

धार्मिक मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, विभिन्न समूहहरूको लाखे नाच प्रदर्शन, श्रीकृष्ण रथयात्रा जस्ता कार्यक्रमहरू भएका छन् । विषेश गरी भोजपुर बजार, टक्सार, वोखिम, चम्पे, दावा लगायतका स्थानहरुमा कृष्ण जन्माष्टमी भव्य रुपमा मनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार