राजकीय सम्मानसाथ नेम्वाङको अन्त्येष्टि हुने, एक दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राजकीय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । मन्त्री किरातीका अनुसार सरकारले उनको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेम्वाङका दुवै छोराहरू विदेशमा रहेको र उनीहरू आउँदै छन् ।

सरकारले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको आज बिहान साढे १ बजे निधन भएको हो । श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर भोलिसम्म पार्टी कार्यालय च्यासलमा राखिने एमालेले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार