कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आज बोलाइएको प्रदेश सभालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले विश्वासको मत लिनु अगाडि नै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने जनाए । आफ्नो पक्षमा बहुमत नभएपछि उनले राजीनामा दिएका हुन् ।

विश्वासको मत लिनु अघि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने जानकारी गराउँदै उनले आफूले सहमतिको राजनीति चाहेको जनाए । सहमति र सहकार्यका निम्ति दलहरुलाई आह्वान गर्दै कार्कीले एमालेले सहकार्य र स्वच्छ राजनीति चाहने उल्लेख गरे । उनले भने, ‘सहकार्य र स्वच्छ राजनीति चाहन्छौँ । लोकतन्त्र कमजोर पार्ने काममा एमाले किमार्थ पनि लाग्ने छैन ।’

प्रदेश सभा बैठक बस्नुअघि एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो । कार्कीको राजीनामासँगै अब संविधानको धारा १६८ (५) अनुसार प्रदेश सरकार गठनको बाटो खुलेको छ ।

१६८ को उपधारा ५ मा उपधारा ३ अनुसार नियुक्त मुख्यमन्त्रीले उपधारा ४ अनुसार विश्वासको मत पाउन नसकेमा उपधारा २ अनुसार कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

कोशीमा उपधारा ५ बमोजिम नियुक्त हुने मुख्यमन्त्रीले ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्नेछ । यदि उनले विश्वासको मत जुटाउन नसकेको अवस्थामा भने प्रदेश सभा स्वतः विघटन हुनेछ । यसपछि मध्यावधि निर्वाचन हुनेछ ।

सर्वोच्च अदालतको परमादेशपछि गत भदौ २२ गते कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्कीले विश्वासको मत लिने प्रस्ताव फिर्ता लिएपछि कोशी प्रदेशको प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार