भोजपुरमा अटो दुर्घटना, ६ जना घाइते

भोजपुर । मध्य पहाडी राजमार्ग अन्तर्गत भोजपुर नगरपालिका वडा नम्वर १०, भैसिपंखाको गजुरमुखीमा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

बुधवार साँझ साढे छ बजेतिर भोजपुरबाट पौवादुङमा गाउँपालिका वडा नम्वर १  श्यामशिलातर्फ जाँदै गरेको २ ह ११८ नम्बरको अटो सडकबाट करिव सात सय मिटर तल खसेर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले जानकारी दिनुभयो ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।

प्रहरी निरीक्षक लिम्बुका अनुसार घाइते हुनेहरुमा पौवादुङमा गाउँपालिका एकका ३२ बर्षिय देवराज राई छन् । उनको टाउको पछाडी चोट लागेको छ । यस्तै सोही ठाउँका ३५ बर्षिय प्रेमबहादुर तामाङ, ३० बर्षिया सम्झना राई, २४ बर्षिया पुष्पा कार्की, चार बर्षिय संजिता कार्की र अटो चालक षडानन्द नगरपालिका नौ, किमालुङका १९ बर्षिय पासाङ तामाङ छन् ।

घाइतेमध्ये संजिताको बाँया तिघ्रा भाँचिएको अवस्था छ भने चालकको टाउकोमा र पुष्पाको निधारमा, सम्झनाको अनुहार पिल्सिएको र प्रेमको दाहिने आँखामा चोट देखिएको प्रहरी निरीक्षक लिम्बुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार