सप्तकोशीमा मोटरबोट दुर्घटना, ११ जना घाइते

सुनसरी  । सप्तकोशी नदीस्थित सुनसरीको चतरा पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रम चलिरहेको बेला मोटरबोट दुर्घटना भएको छ ।

सशस्त्र प्रहरी बलको मोटरबोट दुर्घटना भई सप्तकोशीमा खसेका चार पत्रकारसहित ११ जनाको एपीएफको गोताखोर टोलीले उद्धार गरेको छ । सशस्त्र प्रहरी बलले ‘डेमो’ देखाउने तयारी गरिरहेको बेला कार्यक्रममा सहभागी पत्रकारसहित आगन्तुकहरू चढेको मोटरबोट ओभरलोड भई दुर्घटना भएको हो । दुर्घटनामा कान्तिपुरकर्मी विराटनगरका महाप्रसाद खतिवडा, देवनारायण शाह, क्यामेरा पर्सन शम्भू पोखरेलसहित ११ जना घाइते भएका छन् ।

यस्तै विराटनगरका पत्रकार कुमोद अधिकारी, जितेन्द्र ठाकुर, कार्यक्रमका आगन्तुकहरु सुशील सेँढाई, अर्जुन दाहाल, टंक शर्मा, तेजप्रसाद तिम्सिना, गोमा सेँढाई, विशाल दाहाल र अम्बिका निरौला घाइते भएका छन् । घाइते पत्रकार अधिकारी र खतिवडाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

पानीमा डुबेर बेहोस भएका अधिकारी र खतिवडाको छातीमा समस्या देखिएपछि प्रतिष्ठान भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । अरुको अवस्था सामान्य छ ।

सशस्त्र प्रहरी बलको बराह बाहिनी सुनसरीले दुई महिनाअघि सुरु गरेको गोताखोर तालिमको समापनको अवसरमा उक्त कृत्रिम अभ्यास गराइएको थियो । कार्यक्रमका लागि सशस्त्र प्रहरीले सुनसरी, मोरङ र उदयपुरका पत्रकारसहित जनप्रतिनिधिहरुलाई निमन्त्रणा गरेको थियो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय तथा सहकार्यमा नेपालमा चौथो पटक भएको ‘सिसम–४’ गोताखोर तालिममा दुई जना जनपथ र १८ सशस्त्र प्रहरी गरी जम्मा २० जना जवानहरू प्रशिक्षार्थीको रूपमा सहभागी थिए । तालिम अवधिमा प्रशिक्षार्थीहरूलाई पोखराको फेवातालसहित नेपालका विभिन्न ठूला नदीहरुमा प्रशिक्षण दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार