सहभागी भएकाहरु लिएर फर्केको पिकअप भ्यान दुर्घटना, १९ जना घाइते
इलाम । इलाम बजारमा आयोजित नेकपा एमालेको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। इलामको बिब्ल्याँटेमा दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले झापाको बिर्तासिटी अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। इलाम बजारबाट विजयसभाका सहभागीलाई लिएर गएको पिकअप भ्यान इलाम नगरपालिका ५, बिब्ल्याँटे बजारछेउ सडकमा पल्टिएको हो। इलाम क्षेत्र २ को उपनिर्वाचनमा विजयी बनेका सुहाङ नेम्बाङको विजय सभामा सहभागी हुन गाउँ–गाउँबाट मतदाता इलाम बजार आएका थिए।इलाम नगरपालिका ५ बस्ने वर्ष ३५ की लीलादेवी चापागाईंको देब्रे हातमा चोट रहेकाले थप उपचारका लागि बिर्तासिटी अस्पताल झापा रेफर गरिएको प्रहरीले जनाएको छ। घाइतेहरूमध्ये इलाम नगरपालिका ५ कै वर्ष ६८ का वासुदेव खनाल र इलाम ५ कै वर्ष ५७ का सूर्यप्रसाद दुलाललाई झापा रेफर गरिएको हो।