श्रीमदभागवत सप्ताह एंवम पाञ्चायन देवीदेवता पूजन ज्ञान महायज्ञको खर्च विवरण सार्वजनिक

भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका ५ मा रहेको सन्तानेश्वर महादेवथान मन्दिरमा आयोजना गरिएको श्रीमदभागवत सप्ताह एंव पाञ्चायन देवीदेवता पूजन ज्ञान महायज्ञको खर्च विवरण सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सार्वजनिक गरिएको छ । आज (सोमवार) सन्तानेश्वर मन्दिर व्यावस्थापन समितिको अध्यक्ष ज्ञानेन्द्र राई अध्यक्षतामा भएको उक्त खर्च विवरण सार्वजनिक भएको हो । वैशाख ५ गतेबाट १३ गते सम्म संचालन भएको ज्ञान महायज्ञमा आउने भक्तजनहरुबाट २२ लाख ६६ हजार एक सय ९८ रुपैया चन्दा संकलन भएको पुरान आयोजक समितिका कोषाध्याक्ष रमेश कार्कीले बताए । पुरानमा संकलन भएको रकमबाट ९ लाख ६६ हजार एक सय खर्च भई १३ लाख ९८ रुपैँया बचत भएको कोषाध्याक्ष कार्कीले बताए ।

यता महायज्ञमा ४ रोपनी जग्गा समेत दान गरिएको छ । जग्गा दान गर्नेमा राजकुमार कटुवाल, गोपाल कटुवाल, सिताराम भट्टराई, मनोज भट्टराई, कमला खड्का र राजकुमार खड्काले जग्गा दान गरेका हुन् । महायज्ञमा ५ सय ६१ जनाले दान गरेका छन् भने दान गर्ने पाँच सय ६१ जना मध्ये पाँच हजार भन्दा माथी दान गर्ने दुई सय ४० जना दानवीरहरुको नाम शिलालेखमा लेखेर राख्ने कार्कीले बताए । यस्तै महायज्ञमा भोजपुर नगरपालिकाले पनि एउटा मन्दिर बनाईदिने बताईएको छ । महायज्ञमा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले दिएको बचन अनुसार एउटा मन्दिर बन्ने कुरामा मन्दिर व्यावस्थापन समिति ढुक्क रहेको बताईएको छ ।

वैशाख ५ गतेबाट १३ गते सम्म चलेको श्रीमदभागवत सप्ताह एंवम पाञ्चायन देवीदेवता पूजन ज्ञान महायज्ञ भव्य रुपमा सम्पन्न गराउन भक्तजन, र स्थानीयहरुले ठुलो सहयोग गरेको भन्दै पुरान आयोजक समितिका सचिव सावित्र कुमारी कटुवाले आभार प्रकट गरेकी छिन् ।

२०१० सालमा स्थापना भएको मन्दिरले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बताउँदै मन्दिरको पूर्वाधार निर्माण र जग्गा खरिदको लागि सहयोग संकलन गर्ने तथा धार्मिक पर्यटन प्रवर्धनका लागि लगाईएको ज्ञान महायज्ञमा सवै श्रदालु भक्तजनले सकेको दान गरेको पुरान आयोजक समितिका अध्यक्ष बलबहादुर कार्कीले बताए । उनले पुरानमा संकलन भएका रकम अनाआवश्यक रुपमा कतै खर्च नभएको बताउँदै बचेको रकम मन्दिर व्यावस्थापन समिति, स्थानीय वासी, वडा र पालिकासंग घनिभुत छलफल गरी मन्दिरको हितमा खर्च गर्ने बताएका छन् ।
हलेशी पछिको दोश्रो मन्दिरको रुपमा सन्तानेश्वर महादेव मन्दिर परिचित रहदै आएको मन्दिर व्यावस्थान समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताए । कोशी प्रदेशमा हलेशी पछिको दोस्रो मन्दिर भएकाले यस मन्दिर सम्म आउने भक्तजनहरुलाई सहज बनाउँन सडक हिउँद, वर्खा बाह्रै महिना चल्ने सडक बनाउँन गाउँपालिका, प्रदेश सरकार र संघिय सरकारलाई पहल गरी बाटो बनाउनु पर्ने अध्यक्ष राईले बताए । अध्यक्ष राईले महायज्ञ सफल बनाउन सहभागी भई सहयोग गर्नु हुने सम्पुर्ण भक्तजनलाई मन्दिर व्यावस्थापन समितिको तर्फबाट धन्यवाद समेत व्यक्त गरेका छन् । मन्दिरमा बैशाख ५ गते बाट १३ गतेसम्म श्रीमदभागवत सप्ताह एंवम पाञ्चायन देवीदेवता पूजन ज्ञान महायज्ञ भएको थियो ।

शन्तानेश्वर मन्दिरमा महारुद्र, हिमालय, शिवलिङ्ग, गुप्तेश्वर महादेव, कालीनाग, सेतीनाग, सहस्र नाग, जलपा, पञ्चकोटी, झाँक्री, सिद्धसिकारी, महारानी, ठकुरारी, सिंहदेवी, शीलतादेवी, किरातेश्वर महादेव, रक्तकन्याको मूर्ति रहेको र उक्त मन्दिरमा रामनवमी, तिज, शिवरात्रि, बालाचतुर्दशी लगायतका दिनमा मेला लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार