सम्भावित जोखिम हुन नदिन भोजपुर नगरपालिका जुट्यो विपद् व्यवस्थापनको पूर्व तयारीमा

निरोज कोइराला

भोजपुर । यस वर्षको मनसुन सुरु हुनै लाग्दा सम्भावित जोखिम हुन नदिन भोजपुरका स्थानीय पालिकाहरू विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् । भोजपुर नगरपालिकाले मंगलवार नगर बिपद् ब्यवस्थापन समितिको बैठक राख्दै आवश्यक तयारीका बिषयमा छलफल गरेको हो ।

नगर प्रमुख कैलाशकुमार आलेको अध्यक्षतामा बसेको नगर बिपद् ब्यवस्थापन समितिको बैठकमा मनसुनजन्य विपद् निकट आएकाले सबै पक्ष चनाखो हुनुपर्ने धारणा सहभागीहरुको थियो । विपद्जन्य घटनाको न्यूनीकरण गरी जनधनको क्षतिलाई कम गर्न तर्फ सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणमा सतर्कता अपनाउने बैठकले निर्णय गरेको छ ।

विशेष गरी जोखिम देखिएका बस्ती तथा क्षेत्रहरूमा हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी थप सजगता अपनाउँदै स्थानीय बिपद् सहायता कक्षलाई प्रभावकारी बनाउने निर्णय पनि बैठकमा भएको फोकल पर्सन खगेन्द्र खडकाले जानकारी दिनुभयो । बैठकमा नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाका सभापति तुलबहादुर सुब्बाले विपद् व्यवस्थापनका विषयमा रेडक्रसले पनि राहतका लागि सहयोगी भुमिका निर्वाह गर्दै बताउँदै आवश्यक सामाग्रीहरु मौज्दात रहेको बताउनुभयो ।

मनसुन जन्य अवस्थामा खाद्य सामाग्रीहरुको जोह गर्न पनि आवश्यक रहेको उद्योग बाणिज्य संघका प्रतिनिधी प्रविण सुवालले बताउनुभयो । सोक्रममा नगर प्रमुख आलेले बिपद् जोखिम न्युनीकरणका लागि सरोकारवाला सवै सचेत र तयारी अवस्थामा रहन आवश्यक रहेको बताउँदै मानविय तथा बस्ती जोखिमलाई पहिलो प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो । उहाँले मनसुनजन्य घटनाहरुका बिषयमा वडावासीलाई सचेत गराउन वडाध्यक्षहरुलाई आग्रह समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार