विराटनगरमा प्रहरीबाट कुटपिट भएपछि स्वास्थ्यकर्मीले मागे सुरक्षा

विराटनगर . विराटनगरमा ड्युटीमा रहेका प्रहरीले एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् । कोसी अस्पताल विराटनगरमा कार्यरत सिनियर अहेब अशोककुमार राजवंशीमाथि मंगलबार राति ९ बजेतिर विराटनगरकै देवकोटा चोकमा कुटपिट भएको हो । राजवंशीले ड्युटी सकेर मधुमारास्थित घर फर्कदै गर्दा प्रहरीले रोकेर अन्धाधुन्ध लाट्टी प्रहार गरेको बताए । उनको दुवै खुट्टा र पेटमा चोट लागेको छ ।
मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा आफूमाथि प्रहरीले अमर्यादित र अमानवीय ढंगले कुटपिट गरेको राजवंशीको गुनासो छ । कोसी अस्पतालनजिक रहेको सुरक्षा अस्पतालमा उनले औषधि पसल पनि चलाएका छन् । स्वास्थ्यकर्मीले परिचय पत्र स्पष्ट देख्ने गरी भिरेर हिँडेको देख्दादेख्दै प्रहरीले कुटपिट गर्नु गलत भएको नेपाल चिकित्सक संघ कोसीका अध्यक्ष डा. फरवार्ड सिलवालले बताए । उनका अनुसार स्वास्थ्यकर्मी हुँ भन्दाभन्दै दुई जना प्रहरीले कुटपिट गरेको घटना आएको छ ।

सहकर्मी कुटिएपछि विराटनगरमा चिकित्सक र स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् । बुधबार कोसी अस्पताल विराटनगर परिसरमा प्लेकार्डसहित कुटपिटको विरोधमा उत्रिएका उनीहरुले सुरक्षाको माग पनि गरे । चिकित्सक संघ कोसीको अगुवाईमा आन्दोलनमा उत्रिएका चिकित्सकले दोषी प्रहरीमाथि कारबाहीको माग पनि गरे । उनीहरुले कोरोना महामारीका समयमा सुरक्षाको ग्यारेन्टी नभए काम गर्न नसकिने बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले कोरोना महामारीमा अग्रभागमा खटिएर संक्रमितको सेवा एवं बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सक असुरक्षित हुनु दुःखद् भएको बताए । यस घटनाका सम्बन्धमा प्रशासन र प्रहरी कार्यालयको ध्यानआकर्षण गरिसकिएको जानकारी उनले दिए ।
स्वास्थ्यकर्मी कुटिएको घटनाको छानबिन सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । ‘निषेधाज्ञाको पालना गराउन गराउन प्रहरी खटिएका छन् । स्वास्थ्यकर्मीमाथि हातपात भएको विषयमा अनुसन्धान थालिएको छ,’ एसपी खड्काले भने, ‘स्वास्थ्यकर्मीकै सेवाका कारण कोरोनाका बिरामी निको हुँदैछन् । त्यही भएकाले उनीहरुको मनोवल उच्च बनाउन सुरक्षाकर्मीको पनि भूमिका त्यत्तिकै महत्वपूर्ण छ ।’ उनले आफ्नो ड्युटीमा जाने स्वास्थ्यकर्मीले पनि सुरक्षा संवेदनसिलतालाई बुझ्न जरुरी रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार