विवेकशील साझा पार्टीले भन्यो- चिकित्सा शिक्षामा खेलाँची नगर

काठमाडौँ । विवेकशील साझा पार्टीले चिकित्सा शिक्षा ऐनलाई कुल्चिँदै निजी कलेजलाई सम्बन्धन दिने प्रयास भइरहेकोमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

स्वायत्त हुनुपर्ने चिकित्सा शिक्षा आयोगमाथि हस्तक्षेप गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आयोग पदाधिकारीहरूलाई अवैध काम गर्न निरन्तर दबाब दिएको र त्यसका कारण आयोग नै धराशायी हुने अवस्थामा पुगेको भन्ने समाचारहरूले पार्टीलाई स्तब्ध बनाएको विवेकशील साझाले उल्लेख गरेको छ।

‘प्रधानमन्त्रीको यो सम्भावित कदम निकै गम्भीर छ। व्यक्ति विशेषका लागि मुलुकको कानुन कुल्चँदै र नियामक निकायहरूलाई धराशायी बनाउँदै जाने श्रृंखलाले कसैगरी थप निरन्तरता पाउनु हुँदैन। अन्यथा देश दण्डहीनता र अराजकताको थप सिकार बनी संस्थाहरू असफल हुनेछन्। जसको कारण अन्ततः देशनै असफल हुने दिशामा जाने छ,’ पार्टीका प्रवक्ता शरदराज पाठकले आज निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

चिकित्सा शिक्षा आयोगको आज बैठक बस्ने सम्भावना छ। ‘बैठकमा उठ्ने सबै विषयमा विधि र प्रक्रियासम्मत तरिकाले मात्रै निर्णय गरियोस् भनी विवेकशील साझा पार्टी प्रधानमन्त्रीलगायत सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ,’ उनले भनेका छन्, ‘कुनै निहित स्वार्थका लागि आयोगका आलङ्कारिक अध्यक्षले विज्ञ पदाधिकारीहरूलाई पेलेर कुनै अवैध निर्णय नगराउन् भनी खबरदारी समेत गर्दछौँ।’

उनले कुनै अमुक मेडिकल कलेजले सम्बन्धन पाउने वा नपाउने भन्ने आफूहरूलाई सरोकारको विषय नै नभएको उल्लेख गरेका छन्। ‘जुनसुकै मेडिकल कलेज वा अस्पताल खुल्दा पनि देशको कानुनी व्यवस्था अनुकूल खुल्नुपर्छ, उक्त कलेज नीतिगत स्वार्थ र दलीय दाउपेचको सिकार हुनुहुँदैन भन्नेमा हामी स्पष्ट छौँ,’ उक्त विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार