आत्तिएर चप्पलै नलगाई भाग्यौं, मान्छे कति बगे यकिन छैन

म काठमाडौंबाट करिब साँझ ६ बजेतिर फर्कंदै थिए। पाँचखाल आइपुग्दा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले फोन गर्नुभयो– यांग्रीमा पहिरो गयो भनेर। करिब साढे सात बजेतिर रेडियो मेलम्चीमा आएर झोला मात्र बिसाएको थिएँ। रेडियोको भवन अगाडिबाट नै खोला बग्न थाल्यो। त्यसैले हामी यांग्रीमा पहिरो गएकाले बजारमा बाढी पस्ने चेतावनीसहितको सूचना रेडियोबाट प्रसारण गरेर ज्यान बचाउनका लागि जरायोटारतिर भाग्यौं। हामीले आत्तिएर चप्पल पनि लगाउन भ्याएनौं।

हामीले यति ठूलो बाढी आउला भन्ने सोचेकै थिएनौं। त्यसैले ल्यापटप बोक्ने होस नै भएन। ज्यान जोगाउने चक्करमा त्यहाँका स्थानीय जनताले पनि खानेकुराको जोहो गर्न पाएनन्।

हामी मेलम्ची बजारभन्दामाथि इन्द्रेश्वरी उच्च माध्यमिक रहेको भवनमा बसेर रात कटायौं। खानाको बन्दोबस्त टारमा बस्ने स्थानीयले गरिदिए। बजारमा मेलम्ची नगरपालिका, प्रहरी र रेडियोले मानिस सर्नका लागि आग्रह गरेकाले सबैजना माथि सरे। बजारका कोही मानिसलाई पनि केही हुन पाएन। बजारमा रहेको रोज होटलको छतमा दुई युवा अलपत्र छन्।

क्षति कति भयो भनेर अहिलेसम्म विवरण आएको छैन। बत्ती पनि छैन। ज्यान बाँचे समाचार लेखौंला भनेर बसिएको छ। अझै पनि बाढी आइरहेको छ।

उनीहरूलाई मैले पटकपटक भाग्न अनुरोध गरेको थिएँ तर उनीहरु जोखिम मोलेर छलमा बसिरहेका छन्। उनीहरुलाई जोगाउन भने मुस्किल छ। क्षति कति भयो भनेर अहिलेसम्म विवरण आएको छैन। बत्ती पनि छैन। ज्यान बाँचे समाचार लेखौंला भनेर बसिएको छ। अझै पनि बाढी आइरहेको छ। हेलम्बु गाउँपालिकास्थित तिम्बु, तालामाराङ, ग्याल्थुम लगायतका क्षेत्रका मानिस कति बगाए बनेर यकिन गर्न सकिएको छैन। मेलम्चीदेखि माथि जाने सम्पूर्ण सडक बन्द भएकाले कतै सम्पर्क हुन सकिरहेको छैन।

इन्द्रावतीको तट तिपेनीमा ड्याम रहेको छ। मेलम्ची खोला आउने क्षेत्रको हेलम्बु गाउँपालिकाअन्तर्गत पर्ने मेलम्ची घ्याङभन्दा माथि पहिरो गएको अनुमान छ। तर कसैले पनि पत्ता लगाउन सकेका छैनन्। मेलम्चीको ड्यामभन्दा माथि भनिए पनि अझै यकिन हुन सकिएको छैन। इन्द्रावती र मेलम्ची दुवै खोलामा पहिरो गएको अनुमान गरिएको छ। इन्द्रावती र मेलम्ची खोलामा लेदो बगिरहेको छ।

रेडियो मेलम्चीको सम्पूर्ण डकुमेन्ट, उपकरण ल्यापटप बगाएको छ। रेडियो मेलम्चीको भवनको दोस्रो तलासम्म पुरिएकोको छ। तेस्रो तला मात्र देखिएको छ। रेडियोको करिब ५० लाख जतिको क्षति भएको छ। स्थानीय सबै सुरक्षित बसिरहेका छन्। २० देखि ३० जना रहेको प्रहरी पनि सुरक्षित भएर बसिरहेका छन्। उनीहरु उद्धारका लागि जान सकिरहेका छैनन्।

रेडियो मेलम्चीका स्टेसन म्यानेजर सुवेदीसँग शर्मिला ठकुरीले गरेको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार