विप्लव नेतृत्वको नेकपाका तीन बुँदे माग अक्षरस लागू गर्न प्रधानमन्त्रीलाई बुझाइयो ज्ञापन पत्र

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । तत्कालीन ओली सरकासँग तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएको पार्टीले आफ्ना मागहरु तत्काल कार्यान्वन गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ ।

सोमबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री देउवालाई भेतेर ज्ञापन पत्र बुझाएका छन् । पार्टीका महासचिव विप्लवको हस्ताक्षरमा बुझाइएको ज्ञापन पत्रमा तत्कालीन ओली सरकासँग भएको तीन बुँदे सहमति अक्षरस लागू हुनुपर्ने माग गरेको छ ।

तत्कालीन ओली सकारसँग तीन बुँदे सहमति भएको ५ महिना बितिसक्दा पनि सम्झौँता कार्यान्वयन नभएपछि विशेष कार्यदल बनाएर कार्य सम्पादन गर्न पनि माग गरेको छ ।

ज्ञापन पत्रमा भनिएको छ, ‘यो राष्ट्रिय राजनीतिक मुद्धा हो । यसर्थ विषयको गम्भिरता र संवेदनशिलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्धा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटो भन्दा छिटो निरुपणको अपेक्षा गर्दछौ।’

गएको फागुन २१ गते तत्कालीन ओली सरकार र विप्लव समूहबीच तीन बुँदे सम्झौता भएको थियो । सम्झौताअनुसार विप्लप समूहका नेताहरुमाथि लगाइएका सबै मुद्धा खारेज र बन्दीहरुलाई रिहा गर्ने भनिएको थियो । तर, ओली सरकार गएर देउवा सरकारको आगमन भए पनि अझैँसम्म तीन बुँदे सहमति कार्यान्वयनमा आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार