कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो ।

उदघाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कोरोना संक्रमणको जोखिमका कारण कांग्रेसले यसपटक उदघाटन समारोहमा धेरै मानिसहरु उतारेको छैन । काठमाडौं उपत्यका भित्रका र स्वतःस्फूर्त काठमाडौंमा आएकाहरुमात्र उदघाटन समारोहमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी करिब चार हजार तीन सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।

बन्दसत्र र निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने

कांग्रेसको बन्दसत्र र निर्वाचन प्रक्रिया आजैबाट सुरु हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन शुक्रबार बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ बजेदेखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । मतदान भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा हुनेछ ।

मतदानमा २९ किसिमका मतपत्र हुनेछन् । उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ ।

कांग्रेसमा अब कस्तो नेतृत्व आउला भन्ने चासो धेरैको छ, तर कांग्रेसभित्र भने उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन । संस्थापन समूहबाट शेरबहादुर देउवा सभापतिको उम्मेदवार हुने भए पनि संस्थापनइतर समूहबाट उम्मेदवार टुंगो लागेको छैन । संस्थापनइतर समूहका प्रकाशमान सिंह र डा। शेखर कोइराला आ–आफ्नो अडानमा टसमस नभएपछि उम्मेदवार चयन गर्न सकस परिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार