प्रधानमन्त्रीले भने : जेठ ४ मा स्थानीय निर्वाचन, केही दिनमा मिति घोषणा गर्छौँ

sf7df8f}F . प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ पहिलो साता नै स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन्।

नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँसहितको टोलीसँग सोमबार भएको भेटमा उनले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गरिने बताएका हुन्।

त्यसका लागि केही दिनमै मिति घोषणा गरिने जानकारी पनि देउवाले कांग्रेस बागमती प्रदेशका नेताहरुलाई दिएका छन्।

कांग्रेस सभापतिसमेत रहेका जेठ ४ मा हुने भनिएको स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पनि निर्देशन दिएका छन्।

भेटमा सहभागी काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचन जेठ ४ पछाडि धकेल्ने पक्षमा नरहेको जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ मा गर्ने तयारी रहेको जानकारी दिनुभयो। उहाँ एक दिन पनि पर सार्ने पक्षमा हुनुहुन्न,’ उनले नेपालखबरसँग भने, ‘हामीलाई प्रधानमन्त्रीज्यूले तपाईंहरु चुनावका लागि तयारी गर्नुस् भन्नुभयो।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको भेटमा प्रदेश सभापति बानियाँले देउवासँग स्थानीय तहको निर्वाचनका बारेमा जिज्ञासा राखेका थिए।

बानियाँले स्थानीय तहको निर्वाचनबारे जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले जेठ ४ भन्दा दायाँबायाँ नहुने प्रतिक्रिया दिएको नगर प्रमुख बस्नेतले बताए।

भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरुसँगको गठबन्धन स्थानीय तहको निर्वाचनमा पनि रहनेसमेत बताएको उनले बताएका छन्।

केही दिनअघि बालुवाटारमा भएको पाँच दलीय गठबन्धनको बैठकले संविधानसँग बाझिएको स्थानीय तह निर्वाचनसम्बन्धी कानुन संशोधन गरेर मात्रै जेठमा चुनाव गर्ने निर्णय लिएको थियो।

उता प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि निर्वाचन आयोगले भनेअनुसार नै आगामी वैशाख-जेठमै स्थानीय तह निर्वाचन घोषणा गर्नुपर्ने माग गर्दै आएको छ।

तर पाँच दलीय गठबन्धनमा पछिल्लो समय अमेरिकी परियोजना एमसीसीलाई लिएर विवाद बढिरहेको छ। एमसीसी र स्थानीय निर्वाचनलाई प्याकेजमै निर्णय गरेर अघि बढ्नुपर्ने कुरा गठबन्धनमा उठिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार