उखु किसानले ४ वर्षदेखिको भुक्तानी पाएनन्

परासी । पश्चिम नवलपरासीका उखु किसानले चार वर्षदेखिको बक्यौता रकम पाएका छैनन् । उद्योगीले विभिन्न बहाना बनाउँदै बक्यौता रकम नदिएको उनीहरूको गुनासो छ ।
जिल्लाको इन्दिरा सुगर मिलले २ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । उधारोमा उखु खरिद गरेर रकम नदिने र उद्योग पनि सञ्चालन नगर्दा किसान थप समस्यामा परेका छन् । इन्दिरा सुगर मिल तीन वर्षदेखि बन्द छ । ‘उद्योगी सम्पर्कमा नआउने र उद्योग पनि बन्द भएपछि बाँकी रकम माग्नका लागि कहाँ जाने भन्ने अन्योलमा छौं,’ प्रतापपुर गाउँपालिका–५ का रामकरण चौधरीले भने, ‘सीडीयो कार्यालय र नेताहरूकहाँ पटक–पटक रकम भुक्तानीका लागि गए पनि अहिलेसम्म काम भएको छैन ।’

उद्योगका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले गत वर्षको माघमा जिल्ला अदालत नवलपरासीमा ठगी मुद्दा दायर गरेको थियो । तत्कालै किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता गरेर धरौटीमा रिहा भएका अग्रवालले अहिलेसम्म रकम भुक्तानी गर्न चासो नदिएको उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेश यादवले बताए । ‘काठमाडौं केन्द्रित आन्दोलन भयो भने मात्र सरकार गम्भीर भएजस्तो गर्ने, जिल्लाको समस्यालाई प्राथमिकतामा नराख्दा समस्या ज्यूँका त्यूँ छ,’ उनले भने, ‘चार–चार वर्षसम्म भुक्तानी नगर्ने अनि उद्योग पनि बन्द गरेर बस्ने उद्योगीलाई सरकारले खोई कारबाही गरेको रु’

आर्थिक वर्ष ०७७र७८ मा सरकारले निर्धारण गरेको मूल्यमा वाग्मती चिनी उद्योगले प्रतिक्विन्टल ८ रुपैयाँका दरले रकम भुक्तान गरेको छ । सरकारले ढिलो गरेर मूल्य निर्धारण गर्दा किसानले उद्योगलाई अघिल्लो वर्षको मूल्यमा तत्काल उखु बिक्री गर्ने र बढेको मूल्य उद्योगले थप गर्ने गरेका छन् । सोहीअनुसार वाग्मती चिनी उद्योगले करिब ४० लाख रुपैयाँ किसानलाई दिनुपर्ने भए पनि अहिलेसम्म भुक्तानी भएको छैन । उखु उत्पादक किसान समितिले विज्ञप्तिमार्फत तत्काल किसानको रकम भुक्तानी दिनुपर्ने र नदिएमा उद्योगीलाई कारबाही गर्न माग गरेको छ ।

चिनी उद्योगलाई अहिले उखुको अभाव भएको छ । पाँच–सात वर्षअगाडिसम्म प्रशस्त उखु उत्पादन हुने जिल्लामा अहिले उत्पादन घटेको छ । जसका कारण वर्षमा तीन महिना सञ्चालन हुने उद्योग अहिले मुस्किलले एक महिना मात्र सञ्चालन हुने गरेका छन् । जिल्लामा रहेका चार वटा चिनी उद्योगमध्ये कच्चा पर्दाको अभाव र भुक्तानीको समस्याका कारण दुई वटा उद्योगमात्र अहिले सञ्चालनमा छन् । वाग्मती चिनी उद्योग र लुम्बिनी सुगर मिल सञ्चालनमा छन् । इन्दिरा सुगर मिल र मोहिनी सुगर मिल बन्द छन् ।

सञ्चालनमा रहेका दुई उद्योगलाई पनि पर्याप्त उखु नहुँदा पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको उद्योगी बताउँछन् । जिल्लामा उत्पादनमा कमी आएपछि कपिलवस्तुदेखि उखु ल्याएर उद्योग सञ्चालन गरिरहेको लुम्बिनी चिनी उद्योग सुनवलका कार्यकारी प्रमुख केशवराज आचार्यले बताए । ‘दुई वर्षदेखि बन्द रहेको उद्योग सञ्चालनमा ल्याएका छौं । तर उद्योगलाई आवश्यक कच्चा पदार्थको जिल्लामा अभाव छ,’ उनले भने, ‘कपिलवस्तुदेखि कच्चा पदार्थ ल्याउँदा ढुवानीको खर्च बढेको छ । दैनिक १० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भए पनि पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न सकिएको छैन ।’

जिल्लामा सबैभन्दा धेरै २०५९ सालमा ४५ लाख क्विन्टल उखु उत्पादन भएको थियो । गत वर्षसम्ममा २० लाखमा झरेको छ । विगतमा १२ हजार हेक्टरबाट उखु खेती गरिएकामा अहिले ५ हजार हेक्टर क्षेत्रफलमा मात्रै उखु खेती गरिंदै आएको छ ।

कान्तिपु्बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार