स्थानीय चुनावमा १० हजार ७५६ मतदान स्थल, २१ हजार ९५५ मतदान केन्द्र

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको आइतबार बसेको बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका मतदाता, मतदान स्थल र मतदान केन्द्र टुङग्याएको हो । आयोगका अनुसार सबैभन्दा बढी मतदान स्थल मधेस प्रदेशमा २ हजार १ सय ६३ मतदान स्थल र ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको छ । मधेस प्रदेशका आठ जिल्लामा ३३ लाख ३१ हजार १ सय ७० मतदाता छन् ।

यस्तै प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थल तय गरिएको छ । यसमा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता छन् । वाग्मतीमा १ हजार ७ सय ९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । वाग्मतीमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ मतदाता छन् ।

गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाताको लागि १ हजार २ सय ५३ मतदान स्थल तय गरिएको छ । लुम्बिनीमा ३२ लाख १९ हजार ४ सय ५७ मतदाताको लागि १ हजार ६ सय २९ मतदान स्थल, कर्णालीमा १० लाख १ हजार २ सय ८२ मतदाताको लागि ९ सय ७ मतदान स्थल तोकिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाताका लागि आयोगले १ हजार १ सय ३५ मतदान स्थल तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार